बागमती प्रदेशमा नयाँ सरकार बन्न कांग्रेसको समर्थन अनिवार्य

हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेपछि यसको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ । सोही असरस्वरूप बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

पुष्पकमल दाहाल र माधवकुमार नेपाल निकट सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का बहुमत सांसदले बागमती प्रदेशका मुख्यमन्त्री पौडेलविरुद्ध शुक्रबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्ताव दर्तासँगै नयाँ सरकार निर्माणका लागि जोड घटाउ सुरु हुन थालेको छ । यसअघि पनि मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड–नेपाल समूहको पटक पटकको प्रयास असफल भएको थियो ।

यस्तो छ बागमती प्रदेशमा सरकार निर्माणको अवस्था
प्रधानमन्त्री केपी शर्मा ओली प्यानलका मुख्यमन्त्री पौडेलविरुद्ध नेकपाका ४५ सांसदले अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बागमती प्रदेशमा नेकपाको ८० जना सांसद रहेका छन् । बागमती प्रदेशमा ओलीतर्फका ३३ जना मात्र सांसद रहेका छन् । यसले बागमती प्रदेशमा प्रचण्ड–नेपाल समूह बलियो देखिन्छ तर नयाँ सरकार गठनका लागि दुवै समूहसँग पर्याप्त संख्या रहेको छैन ।

बागमती प्रदेशसभामा जम्मा १ सय १० जना सांसद रहेका छन् । नेकपाभित्रको किचलोले अब नयाँ सरकार निर्माणका लागि २२ सांसद रहेको नेपाली कांग्रेसको समर्थन अनिवार्य बन्ने देखिन्छ । नेकपाका सांसद दुई खेमामा विभाजित भएपछि कांग्रेस निर्णयक शक्ति बन्न पुगेको छ ।

प्रदेशमा नयाँ सरकार गठनका लागि ५६ जना सांसदको समर्थन आवश्यक पर्ने खबर राजधानी दैनिकमा प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?