संसद विघटन: कांग्रेसले अदालतको फैसला कुर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस प्रतिनिधिसभा पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा नजाने भएको छ। यो पार्टी सर्वोच्च अदालतको फैसलाअनुसार अगाडि बढ्ने अवस्थामा देखिएको छ।
जारी केन्द्रीय कार्यसमिति बैठकमा बोल्ने अधिकांश नेताले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ चलिरहेकाले पुनःस्थापनाको मुद्दा लिएर सडक आन्दोलनमा जान नहुनेमा जोड दिएका छन्। कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने सरकारको कदमविरुद्ध भने प्रदर्शन गर्ने निर्णय गरिसकेको छ।

सभापति शेरबहादुर देउवाले पुनःस्थापनाको मुद्दा उठाएर सडकमा जान नसकिने स्पष्ट पारेका छन्। शुक्रबारको बैठकलगत्तै वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन असंवैधानिक भनेर निर्णय गरिसकेकाले पुनःस्थापनालाई एजेन्डा बनाएर आन्दोलनमा जानुपर्ने बताएका थिए। त्यसको जवाफमा सभापति देउवाले तत्काल त्यो सम्भव नरहेको बताएका हुन्।

पौडेलले झारा टार्न मात्रै सरकारको विरोध गर्न खोजिएको भन्दै नेतृत्वप्रति असन्तुष्टि जनाएका थिए। सभापति देउवाले भने सर्वोच्च अदालतमा विचाराधीन विषयलाई लिएर सडक आन्दोलनमा जान नसकिने बताए। ‘सर्वोच्चमा मुद्दा चलिरहेको छ, अहिले सडकमा संसद् पुनःस्थापनाको मुद्दा लिएर जान सकिँदैन’, उनले भने, ‘सर्वोच्चको फैसला कुर्नुपर्छ।’ आजको अन्नपूर्ण पोष्टमा समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?