ब्रोकरको अधिकतम कमिसन ३३ प्रतिशतले घट्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले आगामी आइतबारदेखि लागू हुनेगरी सेयर ब्रोकर कम्पनीहरूले लिँदै आएको सेवा शुल्क ९कमिसन० घटाएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै बोर्डले ३३ प्रतिशतसम्म सेवा शुल्क दर घटाएको उल्लेख गरेको छ ।

अहिले सेयर खरिद बिक्री गर्दा ब्रोकरले लगानीकर्ताबाट ०.४० प्रतिशतदेखि ०.६० प्रतिशतसम्म कमिसन लिँदै आएका थिए । परिमार्जित दरअनुसार अब अधिकतम कमिसन ३३ प्रतिशतले घटेर ०.२६८ देखि ०.४०२ प्रतिशतमा पुगेको छ । यसको अर्थ ५० हजार रुपियाँको सेयर खरिद बिक्री गर्दा पहिले तीन सय रुपियाँ कमिसन लाग्थ्यो भने अब दुई सय रुपियाँ लाग्ने भएको छ ।

बोर्डले कारोबार रकमका आधारमा सेवा शुल्क निर्धारण गरेको छ । ५० हजार रुपियाँभन्दा माथि पाँच लाख रुपियाँसम्मको कारोबारमा ०.३७ प्रतिशत, पाँच लाखदेखि २० लाखसम्ममा ०.३४ प्रतिशत, २० लाखदेखि एक करोड रुपियाँसम्मको कारोबारमा ०.३० प्रतिशत र त्यसभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत कमिसन तोकिएको छ ।

नेपाल सरकार वा नेपाल सरकारको जमानत वा पूर्ण सुरक्षित हुनेगरी सरकारी संस्था वा नेपाल राष्ट्र बैङ्कले जारी गरेको ऋणपत्र तथा संस्थागत ऋणपत्रको खरिद बिक्री कारोबारमा धितोपत्र दलालीबापत लिन पाउने सेवा शुल्क पनि पाँच लाख रुपियाँसम्मको कारोबारमा ०.१० प्रतिशत तोकेको बोर्डले जनाएको छ । यस्तै पाँच लाख रुपियाँभन्दा माथि ५० लाख रुपियाँसम्मको कारोबारमा ०.०५ प्रतिशत, ५० लाख रुपियाँभन्दा माथि जतिसुकैको कारोबारमा ०.०२ प्रतिशत कमिसन बोर्डले तोकेको छ ।

लगानीकर्ताले पुँजी बजार प्रविधिमैत्री बन्दै गएको तथा कारोबार आकारसमेत निकै बढेको भन्दै विगत लामो समयदेखि ब्रोकर कमिसन घटाउन माग गर्दै आएका थिए । सोही मागलाई सम्बोधन गर्दै बोर्डले ब्रोकर कमिसन घटाएको हो ।

धितोपत्र कारोबार प्रणाली तथा सेवामा हुँदै गएको सुधार तथा बजार विस्तारसँगै कारोबार लागतलाई प्रतिस्पर्धी बनाउने अन्तर्राष्ट्रिय अभ्यास तथा अनलाइनमार्फत कारोबार गर्ने लगानीकर्तालाई प्रोत्साहन गर्नुपर्ने भएकाले ब्रोकर कमिसन घटाइएको बोर्डले जनाएको छ । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?