पुनर्निर्माणको ५ वर्ष: ९० प्रतिशत भन्दा बढी घर पुनर्निर्माण, ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च (भिडियो)

काठमाडौँ–  २०७२ साल बैशाख १२ गतेको भूकम्प र त्यसपछिको पराकम्पहरुबाट भएको क्षतिको पुनर्निर्माण र पुनर्स्थापनाका  लागि स्थापना भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज पाँच वर्ष पूरा गरेको छ । यो अवधिमा प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा ठूलो संख्यामा भूकम्प प्रतिरोधी संरचनाहरु तयार पारिसकेको बताएको छ ।

प्राधिकरणका अनुसार अहिले सम्म निजी आवासको पुनर्निर्माणको काममा ९० प्रतिशत भन्दा बढी प्रगति भएको छ । अन्य संरचनाहरुको पुनर्निर्माणमा पनि उल्लेख्य प्रगति भएको प्राधिकरणको भनाई छ ।

२०७२ साल बैशाख १२ गतेको भूकम्पबाट भएको क्षतिको पुनर्निर्माण र पुनस्र्थापनाका लागि २०७२ पुष १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको स्थापना भएको थियो । भूकम्प प्रभावित ३२ जिल्लामा क्षति भएका निजी आवास, सांस्कृतिक तथा पुरातात्विक सम्पदाहरु लगायतका भौतिक संरचनाहरुको पुनर्निर्माण गर्ने जिम्मेवारी प्राधिकरणले पाएको छ ।

कोभिड–१९का कारण पुनर्निर्माण कार्य प्रभावित भएपछि सरकारले प्राधिकरणको कार्यवधि एक वर्ष थप गरेको छ । मन्त्रीपरिषद्को मंसिर १५ गते बसेको बैठकले प्राधिकरणको म्याद २०७७ पुष १० गतेबाट एक वर्षका लागि थप गरी २०७८ पुष १०गते सम्म पु¥याएको छ । स्थापना भएको ५ वर्ष पुरा हुँदै गर्दा प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा ९० प्रतिशत भन्दा बढी प्रगति हासिल गरेको बताएको छ ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गरी प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निमाणका लागि ७ लाख ९६ हजार २ सय ४५ लाभग्राहीहरुसँग अनुदान सम्झौता गरेकोमा ५ लाख ५६ हजार ४ सय ८७ अर्थात ७० प्रतिशत लाभग्राहीहरुले घर पुनर्निर्माण गरिसकेको बताए ।

यस्तै १ लाख ६८ हजार ८३ अर्थात २१ प्रतिशत लाभग्राहीहरु घर पुनर्निर्माणको अन्तिम चरणमा रहेका छन् । बाँकी लाभग्राहीहरुले यसै आर्थिक वर्ष भित्र पुनर्निर्माण सम्पन्न गर्ने पनि सिइओ ज्ञवालीले बताए । भूकम्पपछि असुरक्षित स्थानमा रहेका ४ हजार २ सय ५७ लाभग्राहीलाई सुरक्षित आवासका लागि जग्गा मिलाउने काम भएको छ भने ११ हजार ४ सय ३७ भूमिहिन तथा सुकुम्बासी लाभग्राहीलाई साविककै स्थानमा घर बनाउन अनुमति दिएको छ । यस्तै १ हजार ३ सय ५१ लाभग्राहीले जग्गा खरिद गर्न अनुदान उपलब्ध गराउने निर्णय पनि प्राधिकरणले गरेको छ । निर्माणाधिन १ सय ३० एकीकृत बस्ती मध्ये ५० वटा एकीकृत बस्तीको पुनर्निर्माण सम्पन्न भइसकेको पनि सिइओ ज्ञवालीले बताए ।

सांस्कृतिक तथा पुरातात्विक सम्पदाको जिर्णोद्धार तथा पुनर्निर्माणमा पनि महत्वपूर्ण उपलब्धी हासिल गरेको प्राधिकरणले बताएको छ । क्षतिग्रस्त ९ सय २० वटा सम्पदा मध्ये ४ सय ६५ वटा सम्पदाको पुनर्निमाण सम्पन्न भएको पनि सिइओ ज्ञवालीले बताए । रानीपोखरी पुनर्निर्माणको काम सम्पन्न भएको छ भने धरहराको २० औं तल्ला पुनर्निर्माण भइरहेको र बाँकी २ तल्ला छिट्टै सम्पन्न हुने पनि उनले बताए । यसबाहेक सिंहदरबारको मुख्य प्रशासनिक भवन लगायतका विभिन्न सरकारी कार्यालयहरुको पुनर्निर्माण लगभग सम्पन्न हुने अवस्थामा पुगेको बताए ।

यस्तै ७ हजार ५ सय ५३ विद्यालय मध्ये ६ हजार ८५ पुनर्निर्माण सम्पन्न भइसकेको छ भने १ हजार ४ सय ६८ विद्यालय पुनर्निर्माणको क्रममा छन् । यस्तै कुल १ हजार १ सय ९७ वटा क्षतिग्रस्त स्वास्थ्य संस्थामध्ये ६ सय ९८ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ भने ३८ वटा पुनर्निर्माणको चरणमा छन् । सुरक्षा निकायका २ सय १६ वटा संरचना मध्ये २ सय १४ वटाको पुनर्निर्माण सम्पन्न भइसकेको छ । यस्तै सडक तथा खानेपानी तर्फको पुनर्निर्माणमा पनि उच्च प्रगति भएको सिइओ ज्ञवालीले बताए ।

पुनर्निर्माणका लागि स्वीकृत भएको कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ मध्ये हालसम्म नेपाल सरकार र दातृ निकायहरुको समेत गरी कुल ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भइसकेको छ । दाता सम्मेलनमा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रुपैयाँ मध्ये ६७ अर्ब राहत तथा उद्दार एवं अन्य कार्यक्रममा खर्च भएको र भारतीय एक्जिम बैंकको तर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकार तर्फ स्रोतान्तर भएको हुँदा बास्तविक प्रतिबद्धता रकम जम्मा २ खर्ब ९४ अर्ब रुपैयाँ मात्रै रहेको प्राधिकरणले बताएको छ । यसमध्ये २ खर्ब ३८ खर्ब रुपैयाँका लागि सम्झौता भई श्रोत सुनिश्चितता भएको छ ।

यस्तै गैर सरकारी संस्थाहरुसँग करिब ९० अर्ब रुपैयाँ परिचालन गर्नका लागि सम्झौता भई करिब ७२ अर्ब रुपैयाँ परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?