पाँच महिनामा ६ हजार पर्यटक भित्रिए,डेढ लाख बढी नेपाली स्वदेश फिर्ता

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को मंसिरसम्म हवाई मार्गबाट ६ हजार २ सय ८० जना पर्यटक नेपाल भित्रिएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन विभागका अनुसार नेपाल भित्रिनेमध्ये अमेरिकी नागरिकको संख्या अधिक छ ।

विभागका अनुसार पाँच महिनामा अमेरिकाबाट १ हजार ३१७ जना पर्यटक नेपाल भित्रिएका छन् । त्यसपछि बेलायतबाट ९०१ जना पर्यटक नेपाल आएका छन् ।

चीनबाट सो अवधिमा ५ सय ७६ र भारतबाट ४३१ जना पर्यटक नेपाल आएका छन् । टर्कीबाट ३०३, अस्ट्रेलियाबाट १३५, रसियाबाट १८०, फ्रान्सबाट १३५, जर्मनी र जापानबाट १०८, जोर्डन र माल्दिभ्सबाट १०६, मेक्सिकोबाट ११२, पोर्चुगलबाट १०० र श्रीलंकाबाट १०२ जना पर्यटक नेपाल भित्रिएका छन् । संयुक्त राष्ट्रसंघीय निकायका ११५ जना कर्मचारीसमेत सो अवधिमा नेपाल आएको विभागले जनाएको छ ।

विभागका अनुसार सो अवधिमा विभिन्न मुलुकबाट हवाई मार्ग हुँदै घर फर्किने नेपालीको संख्या कुल १ लाख ५४ हजार २२१ जना रहेको छ । यसैगरी समीक्षा अवधिमा नेपालबाट ७८ हजार २३४ जना नेपाली हवाई मार्गबाट विभिन्न मुलुकतर्फ प्रस्थान गरेका छन् । यो अवधिमा ६१ हजार ३५१ जना पुरुष र १६ हजार ८७८ जना महिला हवाई मार्गबाट विभिन्न मुलुकतर्फ गएका छन् ।आजको राजधानी दैनिकमा समाचार प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?