सहकार्य गर्न कांग्रेसलाई दाहाल पक्षको प्रस्ताव

काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कांग्रेससँग प्रतिनिधिसभा विघटनको निर्णय उल्टिए सरकार र निर्वाचनमा जानुपर्ने अवस्था आए संयुक्त चुनावी सहकार्यका लागि प्रस्ताव गरेका छन् । कांग्रेसले सोमबार बोलाएको सर्वदलीय बैठकमा दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमविरुद्ध तत्काल सर्वोच्च अदालतमा सामूहिक रिट दिने र साझा कार्यक्रमका साथ सडक संघर्षमा उत्रिने प्रस्ताव पनि राखेका छन् ।

उनले प्रस्ताव राख्दै कांग्रेसको दृष्टिकोण मागेका थिए । बैठकमा कांग्रेस, नेकपाको दाहाल–माधव नेपाल समूह र जनता समाजवादीका नेताको उपस्थिति थियो ।

दाहालको प्रस्तावका सन्दर्भमा नेकपाका नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले पनि कांग्रेस नेताहरूसँग सामूहिक जिज्ञासा राखेका थिए । नेकपाको दाहाल–नेपाल समूह कांग्रेस सभापति शेरबहादुर देउवाको भूमिकामाथि धेरैअघिदेखि संशकित हुँदै आएको थियो । संवैधानिक आयोगका पदाधिकारीको सिफारिस गर्दा देउवाले प्रस्ताव गरेका व्यक्तिहरू परेकाले पनि उनीहरूलाई थप सशंकित बनाएको थियो । ‘प्रधानमन्त्री ओली र देउवाबीच भित्री साँठगाँठ रहेको आशंकामा नेकपाका नेताहरू कांग्रेससँग प्रस्ट हुन चाहेको देखियो’ स्रोतले भन्यो, ‘देउवाजीले के गर्नुहोला भन्नेमा उहाँहरूलाई अलि बढी नै शंका भएजस्तो देखियो ।’ कान्तिपुर दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?