अर्थतन्त्रका परिसूचक सकारात्मक

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा अर्थतन्त्र परिसूचक सकारात्मक देखिएका छन् । विप्रेषण आप्रवाह, आयात निर्यातको असमानता घट्दा व्यापार घाटामा कमी र विदेशी विनिमय सञ्चितिमा सुधार आएको छ ।

नेपाल राष्ट्र बैङ्कले जारी गरेको आर्थिक वर्ष ०७७र७८ को पहिलो चार महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा तीन खर्ब ३७ अर्ब ७२ करोड रुपियाँ विप्रेषण भित्रिएको छ । मुलुकमा कोरोना कहरयता उच्च सुधारमा रहेको विप्रेषण आप्रवाह चार महिनामा ११.२ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६।४ प्रतिशतले वृद्धि भई दुई अर्ब ८५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १.९ प्रतिशतले घटेको थियो ।

विदेशी मुद्रा सञ्चिति वृद्धि
चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी मुद्रा सञ्चिति ७।४ प्रतिशतले वृद्धि भएको छ । ०७७ असार मसान्तमा १४ खर्ब एक अर्ब ८४ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति कात्तिक मसान्तमा १५ खर्ब छ अर्ब छ करोड रुपियाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.२ प्रतिशत रहेको राष्ट्र बैङ्कले जनाएको छ । यो विदेशी विनिमय सञ्चितिले १५.४ महिनाको वस्तु आयात र १४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैङ्कले जनाएको छ ।

घट्यो व्यापार घाटा
व्यापार घाटा १२.५ प्रतिशतले घटेको छ । यस अवधिमा व्यापार घाटा तीन खर्ब ६२ अर्ब २९ करोड रुपियाँ कायम भएको नेपाल राष्ट्र बैङ्कले सोमबार सार्वजनिक गरेको पहिलो चार महिनाको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ८.९ प्रतिशतले ह्रास आएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.१ प्रतिशत थियो । समीक्षा अवधिमा निर्यात १०.८ प्रतिशतले बढेको छ । यो अवधिमा ४० अर्ब २० करोड रुपियाँको वस्तु निर्यात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २३.९ प्रतिशतले वृद्धि भएको थियो ।

चार महिनामा अलैँची, जुटका सामान, धागो ९पोलिस्टर तथा अन्य०, चाउचाउ, आयुर्वेदिक औषधि लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छाला लगायतका वस्तुको निर्यात घटेको छ । कुल निर्यातमध्ये भारतमा हुने निर्यात १४.९ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात ५९.२ घटेको छ ।

आयातमा कमी
समीक्षा अवधिमा आयात १०.६ प्रतिशतले घटेको छ । यस अवधिमा चार खर्ब दुई अर्ब ४९ करोड रुपियाँको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६.९ प्रतिशतले घटेको थियो । भारतबाट हुने आयात ३.१ प्रतिशतले घटेको छ भने चीनबाट हुने आयात २५ प्रतिशतले घटेको छ । तेस्रो मुलुकबाट हुने आयात पनि १९.८ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा हेर्दा पेट्रोलियम पदार्थ, हवाई जहाज तथा पार्टपुर्जा, यातायातका साधन तथा पार्टपुर्जा, कच्चा पाम तेल, अन्य मेसिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात भने घटेको छ । चामल, कच्चा सोयाबिन तेल, दूरसञ्चारका उपकरण तथा पार्टपुर्जा, खानेतेल, उपचारका साधन तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको देखिन्छ । गोरखापत्र दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?