अनैतिक यौन सम्बन्धले निम्त्याएको थियो लमजुङको विभत्स हत्या, ३६ घण्टापछि प्रहरीले पक्रियो आरोपी

काठमाडौं – लमजुङको सुन्दरवजार – ४, दुराडाँडाकी ३५ वर्षीया धनमाया भुजेल (मगर) को हत्या आरोपी २० वर्षीय सागर भुजेल र १९ वर्षीय विकास भुजेललाई लमजुङ प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार घटना सार्वजनिक गर्दै प्रहरीले दिएको जानकारी अनुसार आफ्नै भतिज र भान्जाले धनमायाको हत्या गरेको अनुसन्धानबाट खुलेको छ।

घटना भएको ३६ घण्टामा प्रहरीले हत्यारा पक्राउ गरी सार्वजनिक गर्दै मृतक महिला र हत्यामा संलग्न सागर भुजेलबीच केही महिनादेखि अनैतिक यौन सम्बन्ध रहेको रहस्य खुलेको जनाएको हो ।

प्रहरीका अनुसार सागर र धनमायाबीच अनैतिक सम्बन्ध कायम रहेको र ती महिला गर्भवती भएको भन्ने गाउँमा हल्ला चलेपछि सागरले हत्याको योजना बुनि मिल्ने साथी विकास भुजेलको सहारा लिएका थिए ।

प्रहरीसामू उनले दिएको बयानमा मंसिर ३० गते राती धनमायाको हत्याको योजना बुनेको खुलाएका छन् ।

यसरी गरेका थिए हत्या !

धनमायाका श्रीमान् गाई फार्ममा काम गर्न गए/नगएको स्वयम् धनमायालाई फोन गरि निश्चित गरेर अभियुक्त उनको घरमा पुगेका थिए। धनमाया एक्लै भएको निश्चित भएपछि अभियुक्तहरु घरमा गएर हत्या गरेका थिए ।

अभियुक्तद्वयले दिएको बयानमा धनमायालाई सलले घाँटीमा बेरेर पिँढीमा रहेको जाँतोले थिचेर हत्या गरेको भनेका थिए । त्यसपछि उनीहरुले मृतक धनमायालाई घिसारेर बारीमा रहेको गोबर ग्याँसको सेफ्टी ट्याँङ्कीमा फालेर हिँडेका थिए।

प्रहरीले अभियुक्त सागरलाई पोखरा र विकासलाई नीजकै घरबाट पक्राउ गरेको हो । सागर सशस्त्र प्रहरीमा भर्ना हुनका लागि परीक्षा दिन पोखरा गएका थिए।

दुवैजनाले घटना स्वीकार गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?