प्रचण्ड- नेपालको गुट भेलामा किन गएनन् वामदेव गौतम ?

काठमाडौँ- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद उत्कर्षमा पुगेका बेला अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल पक्षले आज प्रदेश १ का अध्यक्ष र सचिवहरूको भेला आयोजना गरेका छन् ।

भेलामा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव नेपाल तथा पूर्वअध्यक्ष झलनाथ खनाल, जिल्ला अध्यक्ष र सचिव र उपत्यकामा उपलब्ध केन्द्रीय सदस्य लगायतका नेता सहभागी थिए। भेलामा प्रचण्ड र नेपाल दुबैले सम्वोधन गरेपनि उनीहरू निकट मानिएका  उपाध्यक्ष वामदेव गौतम भने सहभागी भएनन् ।

उपाध्यक्ष गौतमका प्रेस सल्लाहकार विश्वमणि सुबेदीका अनुसार गौतमले अहिले भेला गर्ने समय नभएको भन्दै बैठकबाट समस्याको समाधान गर्नुपर्ने समय भएको बताएका छन् ।उपाध्यक्ष गौतमले आफु भेलामा नगएपनि पाँच नेताको बैठकमा भने जाने बताएका छन् ।

‘म कुनै पनि भेलामा जान्न, पाँच नेताको बैठकमा भने म जान्छु ।’ सुवेदीले गौतमलाई उदृत गर्दै फेशबुकमार्फत लेखेका छन्, ‘अहिले भेला गर्ने बेला हैन। बैठकबाट सबै समस्याको हल खोज्ने समय हो।’

यस अघि बुधबारको स्थायी कमिटी बैठकमा अध्यादेश फिर्ता हुने निर्णय गरिएको भएपनि अहिलेसम्म अध्यादेश फिर्ता नभएपछि शिर्ष नेताहरुमा थप आशंका बढेको छ ।

प्रधानमन्त्री ओलीले विहिबार फेरि  संबैधानिक परिषदको बैठक बोलाएपछि प्रचण्डले भेटेर अध्यादेश फिर्ता लिन दबाब दिएका थिए । आजै साँझ प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल भएको छ ।

नेकपाको स्थायी कमिटीको अर्को बैठक पुष ५ गतेका लागि बोलाइएको छ भने केन्द्रीय कमिटीको बैठक १० गतेका लागि बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?