उखु किसानको वक्यौता नतिरे उद्योगीको सम्पत्ति रोक्का गर्छौं- उद्योग मन्त्री

काठमाडौँ–  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आन्दोलनरत उखु किसानको वक्यौता रकम १२ दिन भित्र दिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानहरुलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अवको १०/१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको पनि बताए  । उनले भने, ‘१०-१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराईसक्छौँ । नभए सम्बन्धित पक्षको सम्पती रोक्का गरिदिने प्रक्रियामा अगाडि बढ्छौँ । हामिलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताए । सरकारको ठूलो संयन्त्र हुँदाहुँदै पनि उद्योगीहरु भागेर हिंडेको बताउँदै बरिष्ठ नेता पौडेलले आन्दोलनरत किसानको मागलाई सरकारले पुरा गर्नुपर्ने बताए  ।

सरकारले उखु किसानलाई बक्यौता रकम दिलाउन नसके नेपाली कांग्रेस पार्टी पनि उखु किसानको आन्दोलनमा समाहित हुने बताए  ।

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा आई उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?