को हुन् नेपाली परिकारलाई विश्वभर चर्चित बनाउने सेफ सन्तोष ? (भिडियो)

काठमाडाैं – यतिवेला विश्वभर नेपाली परिकारको चर्चा छ । परिकार पस्केर चर्चित बनेका छन् नेपाली सेफ सन्तोष साह ।

‘बिबिसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को उपविजेता बनेसँगै सन्तोषको चर्चा चुलिएको हो । प्रतिस्पर्धामा विभिन्न नेपाली परिकार पस्केका साहले उपाधि जित्न नसकेपनि सारा नेपालीको मन भने जित्न सफल भएका छन् । हरेक साता फरक फरक नेपाली परिकारको स्वाद पस्केर निर्णायकहरुलाई आश्चर्यचकित तुल्याउँदै आएका साहले विश्व मञ्चमा नेपाल र नेपाली खानाको जित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतियोगिताको फाइनलमा ढाकाटोपीमा सजिएका उनले परिकारबाट देशलाई चिनाउन सकेकोमा गर्व लागेको बताएका छन्। ३२ जना व्यावसायिक सेफबीच शुरु भएको उक्त प्रतियोगितामा टप थ्री पर्नुलाई पनि ठूलो उपलब्धि मानिन्छ ।

अन्तिम चरणको प्रतिस्पर्धामा उनले भैंसीको मासु, खोले साग, भेडाको गिदी लगायतका परिकार चरेशको थालमा सजाएर पस्केका थिए । खानासँगै उनले नेवारी समुदायमा सगुनका रुपमा प्रचलित रक्सी ‘ऐला’ पनि सर्भ गरेका िथए ।

गत बुधवारको एपिसोडमा आफूले सबैभन्दा बढी माया गर्ने व्यक्तिको लागि खाना बनाउनुपर्ने राउन्डमा उनले आफ्नी आमाको सम्झनास्वरूप पुरी, भुटेको खुर्सानी र नुन, बासी भात शैलीमा भुटेको चिउरा र गंगटाको ‘करी’ अन्जिर र अदुवा भरेको चिप्ले भिन्डी, आँप र नरिवलको चटनी, आलु, मेथी र अनारको सलाद बनाएर टप ३ मा पर्न सफल भएका थिए ।

करिब ५ सातादेखि चलेको तीव्र प्रतिस्पर्धामा सन्तोषले नेपाली परिकारसँगै नेपाली भेषभूषा एवं संस्कृति समेत प्रस्तुत गरे । प्रतिस्पर्धामा उनले हिमाल, पहाड र तराईको मौलिक परिकारहरु बनाएर प्रस्तुत गरेका थिए ।

साहले यसअघि जिम्बु मोलेको पोलेको खसीको मासु, रायोको साग, पुदिना परौठा, साँधेको भटमास, पुरी, गंगटाको करी, कोदोको खिर, आंपको कुल्फी, तराईमा प्रचलित आंपको ‘अमोट’, नेपालको हिमाली भेगमा प्रचलित काँक्रोको भुटेको बियाँ, वन तरुल, कटहरको भुटेको बियाँ, प्याजको अचार, स्याउको चट्नी जस्ता परिकार चखाएर निर्णायकको मन जितेका थिए ।

त्यसैगरी उनले पोलेको भेडाको मासु, मासुको झोल, सिस्नु र आलुको तरकारी, बेथेको साग, भाङको चट्नी, मकैको रोटी, तामाको अचार जस्ता दर्जनौं नेपाली मौलिक खाना बनाएर निर्णायकहरुको मन जितेका थिए ।

त्यस्तै सन्तोषले टिमुर स्पाइस्ड् अक्ट्पस विथ सिस्नु र आलुको तरकारी, भाङको चट्नी र कर्कलोको पात, बेथेको साग, गहुँको रोटी, तामाको अचार, पोलेको माछा, आलुको अचार, करेला र टमाटरको चट्नी तथा ढुम्रीभित्र आलुको अचार राखेर बेलायतका प्रख्यात ‘फुड क्रिटिक’ हरु टम पार्कर र ग्रेस डेन्टलाई चखाइसकेका छन् ।

उनले सुरुमा प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना बनाएर टप टेनमा पुगेका थिए ।

को हुन् सन्तोष ?

विगत २० वर्षदेखि सेफका रुपमा कार्यरत सन्तोष साह सिराहाको कर्जन्हाका वासिन्दा हुन् । लामो समय भारतमा सेफ काम गरेका उनी १० वर्षदेखि बेलायतमै काम गरिरहेका छन् । उक्त अन्तरराष्ट्रिय प्रतियोगितामा नेपाली खाना लिएर जाने सन्तोष एकमात्र नेपाली हुन् । ३५ वर्षीय सन्तोष अहिलेसम्म अविवाहित छन् । समय र भाग्यले आप्mनो विवाहको लगन जुर्ने उनको भनाइ छ ।

सन्तोषले अब सेन्ट्रल लन्डनमा ‘ऐला बाइ सन्तोष’ नामक टिपिकल नेपाली कुजिन रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी गरिरहेका छन्  । पहिलो नेपाली मिसिलिन स्टार सेफ बन्ने सपना बोकेका सन्तोषका अहिले लाखौं फ्यान छन् ।

नेपालका लागि बेलायती राजदूत निकोला पोलिटदेखि चर्चित फेसन डिजाइनर प्रबल गुरुङ, पूर्व प्रधानमन्त्री नेता डा. बाबुराम भट्टराई, अर्बपति विनोद चौधरी, बैंकर अनिलकेशरी शाह, क्रिकेटर पारस खड्का, कीर्तिमानी स्विमर गौरिका सिंह, लगायतका सेलिब्रेटीहरुले शुभकामना र बधाइ दिएका छन् । विश्वका चर्चित संचारमाध्यमहरुमा उनको कलाको चर्चा भइरहेको छ ।

प्रस्तुत छ, उनको बारेमा तयार पारिएको भिडियो रिपोर्ट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?