निर्वाध रुपमा मिडिया सञ्चालन सँगै पत्रकारको हकहितको ग्यारेन्टीका लागि हाम्रो भूमिका रहन्छ : सोम धिताल (आनका नवनिर्वाचित अध्यक्ष)

काठमाडौं । (विज्ञापन व्यवसायी महासंघका नव निर्वाचित अध्यक्ष श्री सोम प्रसाद धितालसँग नेपालको समग्र विज्ञापन उद्योगको अवस्था, हालको चुनौती र अवसरहरुका बारेमा लोकपथ डट कममा सम्पादक लभेष प्याकुरेलले गर्नुभएको अन्तर्वार्ता ।)

सर्वप्रथम आनको अध्यक्षमा निर्वाचित हुनुभएकोमा लोकपथ डटकमको तर्फबाट हार्दिक बधाई, नेपालको विज्ञापन उद्योगलाई नयाँ उर्जा प्रदान गर्नुपर्ने अवस्था छ । आनको नयाँ कार्यसमिति कसरी र कहिलेसम्ममा पूर्ण हुनेछ ?

धन्यवाद्, आनको विधान भनेको एफ.एन.सी.सी.आईको विधानसँग सिमिलर छ , तर एफ.एन.सी.सी.आईको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ भने आनको विधानमा चाहिँ वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन पाउने तर कार्य समितिको विश्वासको मत प्राप्त गर्नुपर्ने भन्ने बुँदा राखिएको छ ।

त्यो कारणले चाहिँ हिजो मेरा आदरणीय कार्यसमितिका अध्यक्षज्यू लगायत कार्य समितिका पदाधिकारी साथीहरुले मलाई विश्वासको मत दिनुभयोे पूर्व अध्यक्षज्यू , निवर्तमान अध्यक्षज्यूकै रोहबरमा एउटा प्रकृया मलाई पार लगाउनु भयो, अब संभवतः २५ गते आनको साधारण सभाको लागि तयारी गर्दैछौं, संभवतः भोली पर्सीमा नोटीस निकाल्छौँ ।

साथै अरु पदाधिकारी र सदस्यहरुको निर्वाचन प्रक्रिया र साधारणसभाको तमाम प्रक्रियाहरु त्यही दिन सम्पन्न गर्नेछौं ।

कोभिड १९ का कारण नेपालको समग्र अर्थतन्त्र नै नराम्रोसँग प्रभावित भएको छ, अझ थप विज्ञापन बजार र समग्र मिडिया उद्योग करिब करिब धरासायी हुने अवस्थामा पुगेको छ । यस्तो चुनौतीपूर्ण अवस्थामा आनको नेतृत्वमा आउनु भएको छ समस्याको समाधानको लागि तपाईको भिजन प्लान के छ ?

म यहाँको कुरामा आंशिक सहमत छु । सबै धरासायी भएको छैन । विज्ञापन उद्योग, मिडिया उद्योग भन्ने छैन त्यसको असर विज्ञापन क्षेत्रमा पनि पर्छ । स्वभाविक प्रक्रिया हो । भोगाई भोगिरहेका पनि छौँ । प्रत्यक्ष अप्रत्यक्ष रुपमा नेपाल, नेपाली र विश्वका हरेक वर्ग यसबाट प्रताडित नै छन् । यसलाई सामान्य रुपमा लिनुपर्छ ।

कोभिड १९ पनि अब विस्तारै सहजीकरण तर्फ जान्छ होला । खोपको कुराहरु नि आईरहेको छ । यो अप्ठ्यारो बेलामा इन्डस्ट्रिहोल्डरहरु, हामी सञ्चारमाध्यम, विज्ञापन एजेन्सी, विज्ञापनदाताहरु यो कठिनतालाई सहज रुपमा पार गर्न सक्छौँ जस्तो मलाई लाग्छ । यसले हामीलाई धेरै कुराहरु सिकाएर गएको छ, यसबाट पाठ सिक्न जरुरी छ । नयाँ कार्य समिति बन्दै गर्दा मेरो टिमले पूर्णता पाउँदै गर्दा एउटा भिजन सहित सञ्चारमाध्यमलाई साथ लिएर सञ्चारमाध्यम र सरकार बीच आनले समन्वयात्मक भूमिकामा इन्डस्ट्रिीलाई एक लेभल माथि ल्याउने काम छिट्टै सुरु गर्छौ ।

प्रमुख चुनौती भनेको नेपालका विज्ञापनदाताहरु आजको दिनमा सकेसम्म एजेन्सीलाई बाइपास गर्दै आफै मिडिया प्लान बनाउने तर्फ अग्रसर देखिन्छन् । प्रिन्ट तथा कन्भेन्स्नल मिडियामा रेभेन्यूको ठुलो च्यालेन्ज छ र अर्को तर्फ न्यू मिडियाको प्रभावले गर्दा आजको दिनमा एड्भर्टाइजिङ एजेन्सी कमजोर हुँदै गइरहेको तपाईलाई लाग्दैन ?

न्यू मिडिया आइरहेको छ, तर मेनस्ट्रिम मूलधारका मिडियाले त्यसलाई अझै विश्वास गरिरहेको छैन । ट्रेडिसनल मिडिया कमजोर हुँदैछ र वहाँहरुको छट्पटाहट बढी छ । सर्भाइभलका लागि चाल्ने कदमहरु एजेन्सी र इन्डस्ट्रिको हितमा पनि छैन कि भन्ने हामीलाई लाग्छ र यस्तो अप्ठ्यारोको बेलामा विचलीत नहुन अनुरोध पनि गरेका छौ ।

विज्ञापन व्यवसायी मिडियाको साथमा छ । काँधमा काँध मिलाएर चल्न तयार छौं । तर अघि भने जस्तै मूलधारका मेनस्ट्रिम मिडियाहरु हामी एजेन्सी बाहेक पनि चल्न सक्छौ र एजेन्सीले कहीँ न कहीँ सहयोग नगरेको भन्ने लाइनमा जानुभएको छ जुन गलत हो । त्यसो नगर्न म समग्र सञ्चारउद्यमी अग्रज साथीहरुलाई विनम्र अनुरोध गर्दछु । विज्ञापन एजेन्सी र व्यवसायीको हक हितमा कहीँ कतै कुठाराघात हुनु हुँदैन ।

विगत दुई दशक यता आनले सशक्त रुपमा उठाएको मुद्दा क्लिन फिड थियो जुन लागू भइसक्यो तर जुन सोचले आनले यो मुद्दा उठाएको थियो आज यसले त्यो स्तरको प्रभाव पारेको देखिँदैन, कुरो कहाँ बिग्रियो ?

क्लिन फिड धेरै अगाडि देखि उठेको ईस्यू हो । हामी पनि त्यसकै सहयात्रामा छौं । सरकारले ऐन नियम बनाएर कार्यान्वयन दिशामा अगाडि बढ्दै गर्दा दुर्भाग्यवश यो गलत बेला पर्यो । पक्कैपनि यसले दुई छ महिना अझ गार्हो बनाउँछ होला, रिजल्ट ठ्याक्कै नआउला तर केही महिना पछि पक्कै राम्रो हुनेछ । विज्ञापन उद्योग र मिडिया उद्योगका निम्ति यो कोशेढुङ्गा सावित हुनेछ । यो कुरा हामी सबैले बुझेका छौँ । १७—१८ बर्ष देखि चली आएको प्रक्रियाले बल्ल गति लिँदैछ । गलत बेला पर्‍यो भनेर निराश हुनपर्ने छैन ।

विज्ञापन बोर्ड समेत गठन भै सकेको छ तर सम्पूर्ण प्रक्रियामा आन को भूमिका जे जस्तो भएपनि आन बिनाको विज्ञापन बोर्ड खडा भएको छ । यसलाई कसरी समन्वय गरेर अगाडि बढ्नु हुन्छ ?

विज्ञापन बोर्ड गठन भयो खुशी छौ । जो—जो साथी पर्नुभयो सबै सञ्चार क्षेत्रकै हुनुहुन्छ तर खड्केको कुरा के हो भने विज्ञापन बोर्ड भनेको छ तर विज्ञापन क्षेत्रको एक जना प्रतिनिधी पनि हुनुहुन्न र विज्ञापन संघ बोर्ड गठन देखि नीति नियम सम्पूर्ण प्रक्रियामा हातेमालो गरेर लविङ गरेर अगाडि बढेकोमा एक जना प्रतिनिधी पनि छैन भन्दा दुःख लागेको छ ।

हामी किन छुट्यौ त ? असहमतिका कुराहरु सञ्चार मन्त्रालय लगायत सम्बन्धित ठाउँमा राख्छौँ, हामी पनि यसको राम्रो हिस्सा हौँ, यत्रो वर्ष संघर्ष गरेर ऐन नियम ल्याउने र बोर्ड गठनको प्रकृया सम्म आउदा छुट्यौँ। जानाजान छुटाउनु भएको हो कि अन्जानमा छुटेका हौँ ? अझै केही करेक्सन गर्ने ठाउँ भए गर्नुस् । हाम्रो भूमिका सकारात्मक रहन्छ । र सहजता प्रदान गर्दै हातेमालो गरेर हिँड्न तयार छौँ ।

नेपालको विज्ञापन बजारको वास्तविक साईजमै एक किसिमको बुझाईको अभाव छ । यो बजार दश अर्बको हो अथवा बाह्र अर्बको यकिन गर्न सकिने अवस्था छैन । एउटा वैज्ञानिक र पारदर्शी पद्दति निर्माण नगरेसम्म कसरी फ्यूचर स्ट्राटेजी बनाउन सकिन्छ ?

सबै क्षेत्रको यकिन तथ्याङ्क छैन । न्यू मिडिया तर्फ डाईभर्ट भइरहेका छौँ । समग्रमा एघार, साढे एघार अर्बको मार्केट छ भन्छौँ । कोभिड १९ ले गर्दा अलि—अलि तलमाथि भयो होला । न्यू मिडिया भन्दा प्रिन्ट मिडियालाई अलि धेरै असर गर्यो । सो कुरालाई मध्यनजर गर्दा विज्ञापन बोर्ड गठन गर्दा, क्लिन फिड लागू गर्दा डबिङ एडको व्यवस्थितिकरण हुँदा र हामी सञ्चार माध्यमसँग एकाकार भएर हिँड्दा अर्को २०-२५ प्रतिशत मार्केट बढाउन सक्छौँ । कोरोना नि कम हुँदै जान्छ र मार्केट पनि बढ्छ ।

क्यास फ्लो अर्को समस्या हो नेपालको विज्ञापन उद्योग र समग्र मिडिया कै, यसको स्थायी समाधान आवश्यक भइसक्यो, तपाईसँग कस्तो योजना रहेको छ ?

व्यापारमा लेनदेन हुनु स्वभाविक प्रक्रिया हो । विज्ञापनदातासँग एजेन्सीले पैसा उठाउँछ, आफ्नो नाफा राख्छ र बाँकी पैसा सञ्चारमाध्यमलाई बुझाउँछ । विज्ञापनदाताको पैसा कहिलेकाँहि ढिला हुँदा विज्ञापन एजेन्सीले आफै लगानी गरेर केहि सञ्चार माध्यमलाई तिरिरहेको पनि छ ।

केही एजेन्सीहरुले थप लगानी गर्न नसकेर सञ्चारमाध्यमहरुसँगको कहिलेकाहीँ उधारो बढेर गइरहेको पनि अवस्था छ । विज्ञापन व्यवसायी र सञ्चारमाध्यमका साथीहरुको सम्बन्ध बिग्रनेमा उधारो सुबिधालाई कारक भयो कि भनेर पटक-पटक छलफल पनि गर्छौं र अझ छलफलको क्रममा अझ धेरै विज्ञापनदाता साथीहरुको तर्क चाहिँ हाम्रो विज्ञापनदाताहरुसँग पैसा लिउँला नलिउँला तपशिलका कुरा हुन् तर हामीले सञ्चारमाध्यमलाई हाम्रो रिलिज अर्डर गएपछी हामीले व्यापार गरेको भएपछी उताबाट पैसा आयो वा आएन भन्ने नाउँमा हामी उता पेमेन्टलाई तलमाथि गर्न सक्दैनौँ ।

हाम्रो भूमिका अनुसारको हामीले पेमेन्ट गर्दिनुपर्छ भन्ने नै हुन्छ । र लगानीको हिसाबले सञ्चारमाध्यमको जति विज्ञापनदाताहरुसँग उधारो रहला । त्यो भन्दा बढी लगानी चाहिँ विज्ञापन एजेन्सीले पनि गरिरहेको अवस्था हो । बजारमा मोटामोटी ६ अर्ब उठाउनु होला । सञ्चारमाध्यमलाई ४ अर्ब लगभग तिर्नु होला । त्यो भन्दा ठूलो आँकडा विज्ञापन व्यवसायीहरुको सञ्चारमाध्यमसँग छ जस्तो मलाई लाग्दैन ।

बजार सानो छ, हामी सिक्दै छौ । केहि कुराहरु अरु सम्पन्न देशहरुबाट पाठ सिक्नुपर्छ । इन्भेष्टमेन्टको प्याटर्नमा ठूला-ठूला रियालिटी-शोहरु गर्ने क्रम सुरु भएको छ । हामीले आफ्नो आर्थिक क्षमता विकास गर्नैपर्छ । सञ्चारमाध्यम पनि सक्षम भइरहेको अवस्था छैन । केही आफ्नै कारणले, केही हाम्रा कारणले, केही परिस्थितिजन्य कारणले सञ्चारमाध्यम पनि गाह्रोमा छ । सबैथोक आर्थिक रुपमा ठिक्क भइदियो भने गाह्रो नपर्ने अवस्था हो । कहीँकतै गाह्रो पर्यो भने सबै क्षेत्रलाई गाह्रो पर्ने स्थीति छ । अहिले विज्ञापनदाताहरुसँग नि व्यापार ठूलो छैन, नाफाको ठूलो मात्रा देखिँदैन । एजेन्सीहरुमा नि त्यही हो । सञ्चारमाध्यमहरुमा नि त्यही हो । त्यो अप्ठेरोले तीन वटै क्षेत्रलाई कहिँ कतै एक आपसको सम्बन्धलाई अलि धमिल्याउन खोज्ने विश्वासमा अलिकति संकट थपिदिने काम चाहिँ गरिरहेको छ । अलि सहजताको स्थीतिमा गइसकेपछि संघले पनि त्यसलाई पहल गर्छ । कुराहरुमा चाहिँ केहि महिनामा धेरै व्यवस्थित भएर जान्छ ।

अर्थतन्त्र ढिलोचाँडो ट्र्याकमा आउँछ नै । साथै सेल्स स्टिमुलेसनको लागि विज्ञापन उद्योग र मिडिया सबैको आवश्यकता नै हो हालको कठिन परिस्थितिलाई कसरी अवसरमा रुपान्तरण गर्नुहुन्छ ? यात्रा त कठिन नै देखिन्छ ।

गाह्रो बेलामा म नेतृत्व गर्दैछु । अब टिम बन्दै छ । हामी छलफल गर्दैछौँ । क्लिन र सशक्त टिम बनाउँछौँ । विज्ञापन व्यवसायी साथीहरुले त्यसमा सु्झबुझका साथ निर्णय गर्नुहुन्छ भन्ने विश्वास छ । र यो कठिन अवस्थामा नै हामीले हामीलाई खरो रुपमा उतार्न सक्यौँ भने र केही कुराहरुमा नीतिगत र व्यवहारगत कुराहरुमा हामीले हामीलाई सच्याउनु पर्ने कुराहरु, सञ्चारमाध्यमहरुसँग सहकार्य गर्नुपर्ने बेलामा अझ सम्वन्धलाई नजिक्याउने, कारोबारलाई अझ घनिभूत बनाउन, व्यवहार र शैलीलाई परिवर्तन गर्ने गरियो भने हामी विज्ञापन व्यवसायी-व्यवसायीको बीचमा पनि घनिभूत सहकार्यको जरुरी छ ।

फूटेर हैन जुटेर, गुटगत हैन संस्थागत बनेर गइयो भनेर सञ्चारमाध्यमहरुलाई नि त्यहीँ हिसावले र विज्ञापनदाताहरुलाई नि त्यहीँ हिसाबले कन्भीन्स गर्न सकियो भने यो गाह्रोको बेला हो । यो बेला सञ्चारमाध्यम चल्नुपर्छ । यो समाजको एउटा सर्कल हो तपाईहरुले अलिकति सपोर्ट गर्दा हिजो तपाईले ५० लाख रुपैंयाँ खर्च गर्न सक्नुहुन्थ्यो होला अहिले कम से कम २० लाख त गर्दिनुस् । हामी ठूला सञ्चारमाध्यमलाई, सञ्चार गृहहरु निर्वाध रुपमा चल्नको लागि सञ्चार माध्यमका कर्मचारीहरु, पत्रकारहरुको सेवा कटौती नगर्नको लागि पारिश्रमिक कटौती नगर्नका लागि पनि हाम्रो भूमिका पनि जरुरी छ ।

हामी त्यो आवाज बुलन्द गर्छौ । ठूला कर्पोरेट हाउसहरुलाई तपाईंको यही साथ सञ्चारमाध्यम र भलाईका लागि कोशेढुङ्गा सावित हुन्छ । तपाईहरुले साथ दिनुुस् भनेर घनिभुत रुपमा आग्रह गर्दछौँ र जसरी नि गर्नपर्यो भनेर लविङ गर्दछौँ । सरकारलाई नीतिगत हिसाबमा पनि आग्रह गर्दछौँ र यो सबै भयो भने मेरो विचारमा सञ्चारमाध्यम सहजतातर्फ जान्छ र त्यसपछि हामी पनि कम्र्फटेवल जोनमा आइहाल्छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?