‘नृसिंह, देगुतलेजु र बालकुमारी मन्दिर पुनःनिर्माण गरिने’

ललितपुर । ललितपुरको मङ्गलबजारस्थित नृसिंह तथा देगुतलेजु र बालकुमारीमा रहेको बालकुमारी मन्दिर पुनःनिर्माण गरिने भएकोे छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बिहीबार ‘महानगरपालिकाको १०२औँ स्थापना दिवस’मा ती मन्दिर पुनःनिर्माण गरिने बताएका हुन् । उनले भने, “बालकुमारी मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ ।” यसैगरी लगनखेलको ‘न्हूपुखु’ पोखरी बनाउन डेढ करोड बजेट विनियोजन भइसकेको महर्जनले जानकारी गराए ।

जनतालाई कर र नक्सा पास गर्न महानगपालिका आउनु नपरोस् भनेर अनलाइन प्रविधिमार्फत सुविधा पुर्याउन लागिएको उनको भनाइ थियो । महानगरपालिकामा रहेका ७९ हजार घरदैलोमा ब्लक नम्बर नरहँदा घर पत्ता लगाउन कठिन भइरहेकाले सडक सञ्जालमा आधारित सो नम्बर राख्नका लागि अध्ययन गरिसकेको महर्जनले बताए ।

त्यसैगरी महानगरपालिकलाई स्मार्ट सिटी बनाउन स्मार्ट बत्ती, साइकल लेन र हरियाली प्रवद्र्धन गर्नुपर्ने तत्व आवश्यक रहेको हुँदा यो वर्ष वाग्मती पुलबाट सातदोबाटोसम्म ६७९ स्मार्ट सडक बत्ती हाल्ने काम लगभग सकिन लागिसकेको उनको भनाइ छ । उनका अनुसार यस वर्ष मङ्गलबजारबाट ग्वार्को अनि हिमालय होटलबाट अशोक सिनेमा हलसम्म र यो आर्थिक वर्ष हरिसिद्धि, खोकना, बुङ्मती क्षेत्रमा पनि स्मार्ट बत्ती जडान गरिने छ ।

अर्कोतर्फ महानगरपालिकामा अघि बढाइएको पानी र हरियालीजन्य परियोजनाअन्तर्गत जावलाखेलको पाँच ठाउँमा उद्यान निर्माण भइरहेको र लगनखेल अनि कुमारीपाटीको एक–एक ठाउँमा उद्यान निर्माण गरिने भएको उनको भनाइ थियो ।

महानगरपालिकाले अघि बढाएको हरियालीजन्य परियोजनाअन्तर्गत वाग्मती पुलबाट दायाँबायाँ हरियाली प्रवद्र्धनका विभिन्न काम भइरहेका छन् । नेपाल सरकारले यस प्रकारको बत्ती राखिदिएमा महानगरपालिकाले मासिकरूपमा उठ्ने खर्च तिर्ने कार्यक्रममा बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?