पोखरा । फेवाताल बीचमा रहेको प्रसिद्ध धार्मिक पर्यटकीयस्थल बाराही मन्दिर पुनः खुला गरिएको छ । कोभिड– १९ का कारण गतचैतदेखि बन्द रहेको मन्दिर स्वास्थ्य सतर्कतासहित सर्वसाधारणको लागि आजदेखि खुला गरिएको बाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिक्मतबहादुर कुँवरले जानकारी दिए ।
“लामो समय बन्द भयो, बन्दाबन्दी खुलेपछि आन्तरिक पर्यटक आए पनि मन्दिर खुला नभएपछि त्यसै फर्कने गरेका थिए, अब मन्दिर खुला गरेका छौँ । पर्यटक आउने विश्वास छ ।” उनले भने । उहाँले मन्दिर प्रवेशका लागि भौतिकदूरी कायम गर्दै एउटा मात्र बाटोको प्रयोग गरिने र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी दिए ।
उनका अनुसार मन्दिर बन्द रहेको अवस्थामा पूजारीमार्फत नित्य पूजा हुँदै आएको थियो । मन्दिर खुलेसँगै डुङ्गा चालकले खुशी व्यक्त गरेका छन् । दश वर्षदेखि डुङ्गा चलाउँदै आउनुभएका बाबुराम पुरीले भने, “मन्दिर बन्द हुँदा डुङ्गा सयर गर्नेको लागि मात्र त्यति पर्यटक आएका थिएनन् । धेरै जसो आन्तरिक पर्यटक धार्मिक आस्था लिएर मन्दिरको दर्शनको लागि आउँथे, अब मन्दिर खुला भएपछि आन्तरिक पर्यटक आउने विश्वास बढेको छ । ” उनले लामो समय कोभिड– १९ को असरमा परेका डुङ्गा चालक अब चहलपहल बढ्छ कि भन्ने आशा रहेको बताए।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोभिड– १९ ले ठप्प रहेको यहाँको पर्यटन अब विस्तारै लयमा फर्कन थालेको बताए। “हामीले सङ्घ, प्रदेश र पोखरा महानगर तीनै तहलाई पोखरा आसपासका धार्मिक एवं पर्यटकीय गन्तव्य खोल्नका लागि पटकपटक आग्रह ग¥यौं, उहाँहरु सकारात्मक हुनुभयो । आजदेखि बाराही मन्दिर खुला भएको छ अब अरु मठमन्दिर र पर्यटकीय गन्तब्य पनि खुल्नेछन् ।”
उनले पोखरा आसापासका पर्यटकीय गन्तब्य खुलेपछि नयाँ वर्षमा हुने सडक महोत्सवमा आन्तरिक पर्यटकको आगमन बढ्न सक्ने विश्वास व्यक्त गरे। “कोभिड –१९ को भयबाट माथि उठेर स्वास्थ्य मापदण्डको पूर्ण पालनासहित पर्यटकीय गतिविधि गर्नुको विकल्प छैन”, उनले भने “अब पोखरा खुला र सुरक्षित छ भन्ने सन्देश दिएर बाह्य पर्यटकसम्म पनि पुर्याउनुपर्छ ।” उनले पर्यटन व्यवसायीलाई विस्थापन हुनबाट जोगाउन सरकारले ल्याएको राहत प्याकेज छिटो भन्दा छिटो कार्यान्वयन गर्न माग गरे । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया