मानव विकासमा नेपालको सुधार,औसत आयु ७० वर्ष आठ महिना

काठमाडौं । मानव विकास सूचकांकमा नेपालको सुधार देखिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम ९यूएनडीपी०ले बुधबार सार्वजनिक गरेको विश्वव्यापी मानव विकास सूचकाङ्क प्रतिवेदन २०२० अनुसार नेपालले पाँच स्थान फड्को मारेको छ ।

सन् २०१८ मा नेपाल १४७औँ स्थानमा रहेको नेपाल यस वर्ष १४२औंँ स्थानमा रहेको छ । प्रतिवेदनअनुसार नेपालको मानव विकास सूचक ०.६०२ पुगेको छ ।

प्रतिवेदनअनुसार कुल राष्ट्रिय आम्दानीका आधारमा नेपालीको प्रतिव्यक्ति आय तीन हजार चार सय ५७ डलर तथा औसत आयु ७० वर्ष आठ महिना पुगेको छ । विद्यालयमा बिताउने समय १२ वर्ष आठ महिना छ ।

बहुआयामिक गरिबी जनसङ्ख्याको ३४ प्रतिशत रहेको प्रतिवेदनले देखाएको छ । १५ वर्ष माथिको जनसङ्ख्यामध्ये रोजगारी प्राप्तको सङ्ख्या ८२.६ प्रतिशत रहेको छ । कुल जनसङ्ख्यामध्ये ६५ प्रतिशत कृषिमा आधारित रहेको प्रतिवेदनले देखाएको छ । त्यस्तै सेवा क्षेत्रमा १९.९ प्रतिशत संलग्न रहेको उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमा नेपाल छैटौं स्थानमा छ । सबैभन्दा अगाडि रहेको श्रीलङ्का ७२औँ स्थानमा छ भने त्यसपछि माल्दिभ्स ९५औँ, भुटान १२९औँ, भारत १३१औँ र बङ्गलादेश १३३औँ स्थानमा छन् । नेपालपछि पाकिस्तान १५४औँ र अफगानिस्तान १६९औँ स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?