कोरोना कहरकाबीच सार्वजनिक यातायात : सिताराम हाछेथुका उपयोगी टिप्स

३ लाख यात्रुवाहक सवारीका लागि नियम बनाइयोस् !

काठमाडौं । कोभिड १९ का कारण ठप्प भएको काठमाडौं अहिले ब्युँतिदै छ । बन्द पसलहरु खुल्न थालेका छन्, सपिङ मलहरु सञ्चालनमा आउन थालेका छन्, बसपार्कमा फेरि चहलपहल बढेको छ, सडकमा पनि भीड बढेको छ । यससँगै लकडाउनमा पूरै थन्किएका सवारी साधनहरु पुनःसञ्चालनमा आएका छन् । सवारी साधनमा यात्रुहरुको चाप पनि उत्तिकै बढ्ने क्रममा छ ।

महिनौँसम्म शून्य आम्दानी भएर बस्नुपरेकाले सार्वजनिक यातायात व्यवसायीहरु आफ्नो नोक्सानी ब्याजसहित उठाउन अब जोडतोडले लागिपर्ने छाँटकाँट देखिन्छ । यसको अर्थ हो, अब सार्वजनिक यातायातमा झनै भीड बढ्न सक्छ । सडकमा सवारी साधनहरुबीच को अघि, को पछि भन्ने होडबाजी चल्न सक्छ । दुर्घटनाको सङ्ख्या पनि झनै बढ्न सक्ला ।

१० लाख भन्दा बढी जनसङ्ख्याको सेवामा सार्वजनिक यातायात

नेपालमा ९० हजार किमिको हाराहारीमा सडक सञ्जाल छ । देशभरि ३५ लाख सवारीसाधन छन् जसमध्ये १२ लाख जति काठमाडौंमै गुड्छन् । अनुमानित १० खर्ब बराबरको लगानी छ यातायात क्षेत्रमा । जसमा बढी लगानी बैंक तथा वित्तीय संस्थाको छ भने बाँकी व्यवसायीहरुको ।

लकडाउनका कारण सवारी साधन ठप्प हुँदा दैनिक ७० करोडभन्दा बढी हुने आम्दानी ठप्प भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपसचिव रवि रिमालले बताए । ‘यो घाटा निजी क्षेत्रको मात्र नभएर सम्पूर्ण देशको पनि हो किनकी निजी लगानीबाट सञ्चालित सार्वजनिक यातायात क्षेत्रबाट उठेको कर र भन्सार देशको आम्दानीको मूख्य स्रोतमध्ये एक हो,’ उनले भने ।

रिमालका अनुसार राष्ट्रको कूल कर राजस्वको करिब २५ प्रतिशत र भन्सार राजस्वको करिब ३५ प्रतिशत गरी सार्वजनिक यातायातबाट देशको ढुकुटीमा करोडौं रुपैयाँ जम्मा हुने गरेको छ ।

यातायात व्यवस्था विभागको तथ्याङ्क अनुसार नेपालमा ३ लाख यात्रुवाहक र ६० हजार मालवाहक सवारी साधन छन् । जसमा खटिने जनशक्ति अर्थात्ः चालक, सहचालक, परिचालक, मर्मतकर्ता, टिकट काउन्टर आदिको जिविकोपार्जनको मूख्य स्रोत नै सवारी साधन हो । १० लाख भन्दा बढी नेपालीको गाँस, वास, कपास को जिम्मेवारीवहन गर्ने यस क्षेत्रमा कोभिड १९ ले पारेको असरले धेरैजनाको रोजगारी गुमिसकेको र कतिजना ऋणमा डुबेको अवस्था छ ।

थलिएको यातायात क्षेत्रलाई कसरी उठाउन सकिन्छ ?

विश्वका धेरैजसो देशहरुमा सार्वजनिक यातायातको क्षेत्रमा सरकारले अनुदान प्रदान गर्ने गर्दछ । जर्मनीमा ५० प्रतिशत, इटलीमा ४० प्रतिशत सरकारी अनुदानमा सार्वजनिक यातायात चलिरहेका छन् । यही कारणले त्यहाँका सार्वजनिक सवारी साधनहरु व्यवस्थित हुन्छन् र धनीगरिब, सानाठूला सराबरी सार्वजनिक यातायातमै यात्रा गर्ने गर्दछन् । तर, नेपालमा सार्वजनिक यातायातको हकमा सरकारी अनुदानको प्रावधान नै छैन । अझ, यस क्षेत्रमा सरकारको न कुनै स्वामित्व छ न त कुनै लगानी नै । यही कारणले गर्दा सडकमा थोत्रा सवारी साधनहरु देखिने, सहचालक नै चालक बनेर गाडी कुदाउने, ट्राफिक नियम पालना नहुने आदिजस्ता समस्या बढी देखिन्छन् ।

निजी क्षेत्रको लगानी रहनुपर्ने भएतापनि नियमन तथा निगरानीको काम भने सरकारले नै गरेको उचित हुने बताउँछन् पूर्व ट्राफिक प्रहरी निरीक्षक तथा ललितपुर महानगरका नगर प्रहरी बल प्रमुख सिताराम हाछेथु । यस महामारीको बेला झन् सार्वजनिक सवारी साधन संक्रमणको ‘हटस्पट’ हुनसक्ने भएकाले यस क्षेत्रको व्यवस्थापनमा सरकारको ध्यानाकर्षण हुन जरुरी भएको उनी बताउँछन् ।

तस्वीरः सिताराम हाछेथुको फेसबुकबाट

कसरी व्यवस्थापन गर्ने सवारी साधन र भीड ?

कोभिड १९ ले जनमानसमा गहिरो छाप छोडिसकेको छ । अब मानिस धेरै भीडमा सकेसम्म नजान सक्छन् । अत्यावश्यकवाहेक अन्य काममा बाहिर हिँडिहाल्न नरुचाउन सक्छन् । तर, शैक्षिक संस्थान, कार्यालय देखि सरकारी, निजी सबै क्षेत्र सामान्य रुपमा सञ्चालन हुन थालिसकेको अवस्थामा भने नहिँडी, सामान्य दैनिकीमा नफर्की साध्य नभएको बताउँछन् पूर्व ट्राफिक प्रहरी निरीक्षक हाछेथु ।

‘सार्वजनिक सवारी साधनहरुलाई सधै जोड-बिजोड प्रणालीमा सञ्चालन गरेर हुँदैन किनकी सबै क्षेत्र खुलेपछि झन् यात्रु बढी तर, सवारीसाधन थोरै भएको अवस्था छ,’ हाछेथु भन्छन्, ‘तर, जोड-बिजोड प्रणाली हटेपछि यात्रुहरुलाई सुरक्षित राखेर, भीड व्यवस्थापन गर्नुपर्ने चुनौती पनि बढ्नेछ ।’

यति लामो लकडाउनको समयलाई सदुपयोग गरेर सरकारले सडक विस्तार गरेर, मर्मतसम्भारका कार्यहरु गरेर उत्पादनशील बनाउन सक्थ्यो तर, त्यसो भएन । त्यसो भइदिएको भए काठमाडौंमा जाम तथा भीडभाडको समस्या, दुर्घटनाहरु आफै कम हुने बताउँछन् हाछेथु ।
यस्तो अवस्थामा के गर्ने ? भन्ने हाम्रो प्रश्नमा उनी भन्छन्, ‘अब सरकारको मुख ताक्ने भन्दा पनि आफ्नो सुरक्षा आफैँ गर्नुपर्ने अवस्था छ ।’

अझै पनि कोभिड १९ उन्मूलन नभइसकेकाले सामान्य दिनहरुमा जस्तो सार्वजनिक यातायातमा ढुक्कले यात्रा गर्ने बेला नभइसकेको बताउँदै हाछेथु भन्छन्,‘त्यसैले मास्कको अनिवार्य प्रयोग, स्यानिटाइजर बोक्ने, पञ्जा लगाउने जस्ता सामान्य प्रयास त गर्नुप-यो नि । हामी मात्र नभएर हाम्रो परिवार, आफ्ना आफन्तको स्वास्थ्यको पनि सवाल छ ।’

अब हरेक व्यक्ति वा निकायले आफ्नै ठाउँबाट सकेजति प्रयास गर्नुपर्ने कुरामा जोड दिँदै उनी भन्छन्, ‘व्यक्तिले आफ्नो ज्यान जोगाउन डाक्टर, विज्ञहरुले भनेअनुसारको उपाय अपनाउनुप-यो, सरकारले जोड-बिजोड प्रणाली हटाउनुप-यो ताकि सवारीसाधन र यात्रुहरुको अनुपातको तालमेल मिल्छ र चाप स्वतः कम हुन्छ अनि सवारी चालक तथा परिचालकहरु पनियात्रु तथा आफ्नो स्वास्थ्यलाई लिएर अलि संवेदनशील हुनुप-यो ।’

‘मास्क नलगाइ गाडी चढ्नै नदिने, यो नियम पालना नगर्नेलाई जरिवाना वा सजायको व्यवस्था गर्ने आदि जस्ता उपायहरु अपनाएर पनि कोरोनाको जोखिमलाई केही हदसम्म कम गर्न सकिन्छ,’ उनी सुझाउँछन् ।

सार्वजनिक सवारी साधन चलाउँदा वा चढ्दा निम्न कुरामा ध्यान दिनुपर्छः

सिताराम हाछेथुले सवारी साधन चलाउने र चढ्ने दुवै पक्षले निम्न कुराहरुमा ध्यान पु-याउनुपर्ने बताए :

यात्रुहरुले अनिवार्य रुपमा मास्कको प्रयोग गर्नुपर्छ । समयसमयमा ह्यान्ड स्यानिटाइजरको प्रयोग गर्ने

एक आपसमा दूरी कायम गरेर बस्ने

सवारी साधनका चालक, परिचालकहरुलाई पिपिइ लगायत स्वास्थ्य सामाग्री उपलब्ध गराउने

सवारी साधनको सरसफाई र व्यवस्थापनमा ध्यान पु-याउने

सवारी साधनलाई स्यानिटाइज गरिरहने

सिटमा भरिभराउ यात्रु नराख्ने, सामाजिक दूरी कायम गर्ने

कोरोनालाई अफवाहको रुपमा नलिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?