सावधान ! लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुनुहोस्, यसो भन्छन् डाक्टर

लोकपथ संवाददाता
385
Shares
तस्वीर : बास्तोलाको सामाजिक सञ्जालबाट

काठमाडौं । मानिसहरुमा लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी हुन् डाक्टरको सुझाव रहेको छ ।

पीसीआर परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्ने भन्दै डाक्टरले त्यस्तो सुझाव दिएका हुन्।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा एक त्यस्तै केस आएको भन्दै अस्पतालका प्रवक्ता डा अनुप बास्तोलाले सामाजिक सञ्जालमा त्यसबारे बताएका हुन् ।

बास्तोला सामाजिक सञ्जालमा लेख्छन् :

कोभिड निमोनियाको लक्षण लिएर मंसिर ११ मा अस्पताल आउनु भएकी ५० वर्षीया एकजना आमाको पीसीआर नेगेटिभ थियो । तत्काल गरिएको एन्टिजेन टेस्ट नेगेटिभ नै आयो । अन्ततस् एन्टिबडी टेस्ट पनि पोजिटिभ आयो । यसको अर्थ हो, उहाँको शरीरमा कोभिड एन्टिबडी तयार भइसकेको थियो ।

पीसीआर र एन्टिजेन नेगेटिभ अनि एन्टिबडी पोजिटिभ भएको बिरामीलाई कसरी कोभिड अस्पतालमा उपचार गर्ने त ? हामी धर्म संकटमा पर्‍यौं । तर, कोभिडले श्रीमान सिकिस्त हुँदा हेरचाह गरेको (संक्रमितसँग प्रत्यक्ष सम्पर्क) र एक्सरेमा कोभिड निमोनिया रहेको आधारमा आईसीयूमा राखेर उहाँको उपचार थालियो ।

आईसीयूमा एक साता र त्यसपछि कोभिड वार्डमा उपचारपछि उहाँ १५ दिनका दिन डिस्चार्ज हुनु भयो । तर, यो घटनाले हामीलाई झक्झक्याएको छ । लक्षण देखिएका तर पीसीआर नेगेटिभ भएका व्यक्ति सचेत हुन जरुरी छ । परीक्षण नेगेटिभ आएपछि कोभिड नै होइन भनेर निमोनिया भइसकेका बिरामी कोभिडको उपचारबाट वञ्चित हुने अवस्था आउन सक्छ ।

लक्षण भएका तर, अस्पताल ढिलो आइपुग्ने बिरामीलाई पीसीआर नेगेटिभ देखिए पनि निमोनियाले गाँजेको हुन सक्छ । ५० वर्षीया आमाजस्तै पीसीआर नेगेटिभ अन्य केही कोभिडका बिरामी उपचाररत हुनुहुन्छ । त्यसैले पीसीआर नेगेटिभ छ भनेर वास्तै नगर्ने र

पोजिटिभ आउनासाथ बिरामी भएँ भन्दै आत्तिने काम नगरौं ।

विश्वव्यापी पछिल्ला अनुसन्धानले कोभिड-१९ को संक्रमण पुष्टि भएको ९ दिनपछि शरीरमा जीवित भाइरस नरहने देखाएका छन् । त्यसैले कोभिड पोजिटिभ र नेगेटिभको गोलचक्करमा रुमल्लिनु भन्दा आफूमा देखिएका लक्षणलाई महसुस गरौं । कडा लक्षण छन् भने अस्पताल पुग्न ढिला नगरौं । आफू बचौं अरूलाई पनि बचाऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?