२१ वर्षीय प्रवासी दिलाशाको सपना : नेपालका कोही पनि भोकै नहोउन्

काठमाडौं । कहिले १८ वर्ष पुगिन्छ र पासपोर्ट बनाएर विदेश जाउँ अनि देश कहिल्यै नफर्किउँ भन्ने सोच बोक्ने अहिलेका अधिकांश युवाहरुका लागि गतिलो पाठ हुन् दिलाशा जमकटेल ।

१३ वर्षको उमेरमा परिवारसँगै क्यानाडा पुगेकी उनले देश बिर्सन सकेकी छैनन् । त्यसैले त उनको लक्ष्य भनेकै नेपालमा समाजसेवा गर्ने हो । २१ वर्षीय दिलाशा मनोविज्ञानमा स्नातक गर्दै छिन् । यति सानो उमेरमा उनले नेपालका दुई गाउँहरुमा च्यारिटी सञ्चालन गरिसकेकी छिन् ।

विद्यार्थी त्यसमाथि पनि आप्रवासी दिलाशालाई आफ्नै बलिबुँतामा नेपालमा च्यारिटी सञ्चालन गर्नु सहज काम पक्कै होइन । तर, पहिल्यैदेखि विदेशमै बसेर भएपनि देशको लागि केही गर्ने अठोट लिएकी दिलाशालाई प्रयास नगरी हार मान्नै मनलागेन ।

पैसा जम्मा गर्नलाई आफूले पार्ट टाइम जब गरिरहेका ठाउँमा उनले अतिरिक्त समय दिन थालिन् । त्यहीँबाट जम्मा गरेको केही रकमले उनले फ्रिडम सोसल फाउन्डेसन नामक नेपालमै दर्ता भएको सामाजिक संस्थासँग समन्वय गरेर ‘फिड अ भिलेज’नामक अभियान सञ्चालन गरिन् ।

सोही अभियान अन्तर्गत लकडाउनका दौरान घलेखर्क र कानेगाउँ नामक पोखरानजिकका दुई विकट ‘दलित वस्ती’का ९६ वटा परिवारमा खाद्यान्न वितरण गरेको उनले बताइन् । ‘त्यसअघि त्यो ठाउँमा कोही पनि सहयोगी मन नपुगेकाले होला गाउँका सबै मानिसले हाम्रो निकै उत्साहका साथ स्वागत गर्नुभयो,’ उनले लोकपथसँग आफ्नो अनुभव सुनाइन्, ‘प्रत्यक्ष रुपमा देखेपछि थाहा भयो त्यहाँ दुई छाक खानसमेत धौधौ हुने मान्छेहरु हुनुहुँदो रहेछ ।’

केही व्यक्तिहरुले आफ्ना छोराछोरीलाई पोखरा पढ्न पठाएको भएतापनि प्रायको आर्थिक अवस्थाले यसो गर्न नपुग्ने भएकाले गाउँमा धेरै केटाकेटीहरु स्कुल जानै नपाउने रहेछन् । ‘दुवै गाउँका बासिन्दासँग प्रत्यक्ष कुराकानी पनि गरेँ मैले, उहाँहरुको उत्साह देखेर अचम्म लाग्यो अनि थोरै दुःख पनि,’ आफ्नो भनाइलाई थप प्रष्ट्याउँदै उनले थपिन्, ‘मैले गरेको सानो सहयोगबाट त्यति धेरै खुशी भएका देखेर अचम्म लाग्यो अनि केही नभएपछि थोरै पाउँदा पनि यसैगरी चित्त बुझाउनुपर्ने बाध्यता रहेछ भन्ने बुझ्दा चाहिँ दुःख लाग्यो ।’

जे होस् दिलाशाले जीवनभरिलाई पुग्ने अनुभव बटुलेर फर्किएकी छिन् । त्यस भ्रमणले आफूमा नेपाल र नेपालीलाई झन् सहयोग गर्ने इच्छा थपेको बताउँछिन् उनी । ‘अब क्यानाडा फर्किएर झन् बढी मिहिनेत गर्नुछ, झन् बढी काम गर्नुछ,’ दृढ सङ्कल्प मिसिएको लवजमा उनले भनिन् ।

अबको उनको लक्ष्य भनेकै क्यानाडाका सहयोगी मनहरुलाई समेटेर, उनीहरुको सहयोगलाई नेपालीहरु सम्म पुर्‍याउने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?