काठमाडौं । यही मङ्सिर ८ गते पोखरामा भएको फिष्टेल नेपालको प्याराग्लाइडिङ फूल टिपेर प्यासेन्जरलाई दिने क्रममा दुर्घटना भएको निष्कर्ष निकालिएको छ ।
झण्डै दुई दशकदेखि प्याराग्लाइडिङको क्षेत्रमा क्रियाशील रहेको एनएएले पछिल्लो दुर्घटनामा प्यारा पाइलट नै दोषी भएको निष्कर्षसहितको प्रतिवेदन प्राधिकरणलाई बुझाएको हो ।
फिष्टेल नेपालको प्याराग्लाइडिङ दुर्घटना हुँदा अनुभवी प्यारा पाइलट राजु गैरे (नेपाल) को निधन भएको थियो ।
एनएएका उपाध्यक्ष नारायणप्रसाद पराजुलीको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन समितिले उक्त दुर्घटनाका विभिन्न पक्षको प्रक्रियागत अध्ययन गरी बुझाएको प्रतिवेदनको अन्तिम निष्कर्षमा ‘पछिल्लो समयमा विकसित भएको अतिरिक्त गतिविधिमध्येको फूल टिपी प्यासेन्जरलाई दिन खोज्दा देब्रे हातको ब्रेक छुट्न गएको र ग्लाइडर असन्तुलित हुँदा स्पिन भएको र स्पिडमा झरी दुर्घटना भएको’ उल्लेख गरिएको छ ।
त्यसैगरी प्राधिकरणबाट आठजना प्यारा पाइलटहरु नियम विपरीतको गतिविधिमा संलग्न भएको भन्ने पत्र संस्थामा आएको पराजुलीले जानकारी दिए । उनले भने, “प्राधिकरणले सुरक्षा विपरीत गतिविधिमा संलग्न भएका आठ प्यारा पाइलटको नामसमेत पठाएको छ, उनीहरु प्राधिकरणमा उपस्थित भएर आफ्नो जवाफसमेत दिइसक्नुभएको छ ।” पराजुलीले प्राधिकरणको छानबिन प्रतिवेदन आएपछि मात्र अन्य थप कुरा थाहा हुने बताए ।
नागरिक उडड्यन प्राधिकरणअन्तर्गत छानबिन समितिका सदस्यसचिव सुवेदीले उडानको समयमा नियम विपरीतका गतिविधिमा संलग्न केही पाइलट छानबिनमा तानिएको बताए ।
प्राधिकरणअन्तर्गत दुर्घटनाको छानबिनसँगै नियम विपरीतका गतिविधि भइरहेको सन्दर्भमा पनि छानबिन भइरहेको छ ।
सुवेदीले छानबिनमा भएका पाइलटले तत्काल उडान गर्न नमिल्ने जनाउँदै कस्तो खालको कार्वाही हुन्छ भन्ने प्रतिवेदन सार्वजनिक पछि मात्र थाहा हुने बताए ।
उनका अनुसार प्राधिकरणले आगामी पुसको १० गते प्रतिवेदन सार्वजनिक गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया