श्रीमानबाट एसिड आक्रमणमा परेकी आरती भन्छिन् ‘पहिलैदेखि यातनाको शिकार थिएँ

'सरकारसँग मेरो एउटा माग छ'

काठमाडौं । यतिबेला कीर्तिपुर अस्पतालको शैयामा आरतीसँगै सुस्ताएका छन् उनका सपना । २१ वर्षीय आरती साह आफू सकुशल हुने दिन गन्दैछिन् । उनलाई स्वस्थ्य भएर घर जानुछ । बुबाको सब्जी पसल फेरि सम्हाल्नुछ । ३ वर्षीया छोरीसँग लुटुपुटु हुनुछ । उनको भविष्यको चिन्ता लिनुछ । तर, यी दृश्यहरु खासै स्पष्ट देख्दिनन् उनी । डाक्टरले भनेका जो छन्, ‘अझै ३-४ महिना अस्पतालमै बस्नुपर्ने हुनसक्छ ।’

अस्पतालको लामो बसाइ, पीडादायी उपचार प्रक्रिया, पट्यार लाग्दा दिनहरु सहनै परेको छ आरतीले । किनकी उनलाई ठीक हुनुछ । शरीरले साथ नदिए पनि उनी आत्मबल जम्मा पार्दैछिन् । त्यही आत्मबलले अब उनलाई सिंगो जीवन धान्नु छ ।

यी आरती तिनै हुन् जसमाथि आफ्नै श्रीमानले एसिड आक्रमण गरे । खबर भुसको आगोसरी फैलियो ।

‘श्रीमती र छोरीलाई एसिड प्रहार’ भन्ने शीर्षकमा छापिएका खबरहरुमा पाठकले खासै नयाँ केही पाउन सकेनन् । किनकी एसिड आक्रमण भन्नासाथ घटनाको प्रकृति, अपराधी र पीडित, अपराध गर्ने तरिका, कारण प्राय नौला हुँदैनन् । बस् पात्रहरु फरक हुन्छन् । अनि उनीहरुका अनुभूतिहरु नितान्त व्यक्तिगत हुन्छन् ।

कसले एसिड प्रहार ग¥यो ?
श्रीमान् अथवा प्रेमी ।

पीडित को ?
महिला ।

किन एसिड प्रहार गरियो ?
मेरो नहुने हो भने कसैको हुन दिन्न भन्ने मनशायले ।

यस घटनामा पनि भएको त्यही हो ।

***

मितिः २०७७ ०७ २९, लक्ष्मी पूजाको दिन ।

स्थानः जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगर ।

आरती साहका श्रीमान् सञ्जीव साह ससूराली पुगे र श्रीमतीलाई एसिड छ्यापे । नजिकै बसेकी ३ वर्षीया छोरी रियालाई पनि एसिडको बाछिटाले भेट्यो । श्रीमतीलाई एसिड छ्याप्नासाथ सञ्जीव फरार भए ।

तस्वीरः मुस्कानको फेसबुकबाट

घाइते आमा छोरीलाई जानकी हेल्थ केयर एण्ड टिचिङ अस्पताल पु-याइयो । पछि अस्पतालले उनीहरुलाई कीर्तिपुर अस्पतालमा रेफर गरिदियो । एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत भाग जलेको थियो भने रियाको टाउको र बायाँ हात जलेको थियो । रिया निको भएर घर फर्किसकेकी छिन् । आरतीको भने कीर्तिपुर अस्पतालमै उपचार भइरहेको छ । उनको उपचारको जिम्मेवारी सरकारले लिएको छ । खान, बस्नदेखि उपचार खर्चसम्म सरकारले व्यहोरिदिएको पहिलो एसिड आक्रमणको घटना हो यो ।

‘पहिलैदेखि यातनाको शिकार हुनुहुन्थ्यो आरती दिदी’

यस घटनालाई नजिकबाट नियालिरहेकी मुस्कान खातुन भन्छिन्, ‘आरती दिदी त हिम्मतवाली हुनुहुन्छ ।’

आफै पनि एसिड आक्रमणको शिकार भइसकेकी मुस्कान आरतीलाई कीर्तिपुर ल्याइएको भोलिपल्टै पुगेकी थिइन् उनलाई भेट्न ।

मुस्कानले पहिलोपल्ट आरतीलाई भेट्दा रोइरहेकी थिइन् उनी । ‘हामी हा-यौं भने अपराधीको जीत हुन्छ,’ थोरै आफ्नै अनुभवका कथाहरु मिसाएर सान्त्वना दिइन् मुस्कानले । आफूसँग केही बेर गफ गरेपछि आरती अझै बढी खुल्दै गएको बताउँछिन् मुस्कान । त्यसपछि, आफूमाथि हुँदै आएको ज्यादतीका बारेका पनि खुलेर कुरा गरिन् आरतीले ।

‘श्रीमानले सधै रक्सी खाएर पिट्ने, घरझगडा गर्ने, शारीरिक र मानसिक यातना दिने गरेको रहेछ दिदीलाई,’ मुस्कान अगाडि थप्छिन्, ‘कतिपटक त करेन्ट लगाउन, पेट्रोल छर्केर जिउँदै जलाउन पनि खोजेको थियो रे ।’

पतिबाट मात्र नभएर ससुराबाट पनि यस्तैयस्तै पीडा झेल्नुपरेपछि छोरी च्यापेर घरबाट निस्किइन् आरती । आफ्ना बुबाको सब्जी व्यापारमा सघाउँदै माइतमै बस्दै आएकी थिइन् उनी ।

‘आफै कमाएर छोरीलाई पढाउँछु भनेर श्रीमान्सँग तलाख गर्न पनि तयार हुनुभएको रहेछ आरती दिदी,’ आरतीको हिम्मतको प्रशंसा गर्दै मुस्कान भन्छिन्, ‘दिदी त साह्रै हिम्मतवाली लाग्यो मलाई ।’

मुस्कानका अनुसार लकडाउनले गर्दा आरती र उनका श्रीमान् सञ्जीवको सम्बन्ध विच्छेदको प्रक्रिया अघि बढ्न नपाएको रहेछ । तर, यही मौका छोपेर सञ्जीवले यस्तो अपराध गर्लान् भनेर कसले पो कल्पना गरेको थियो होला र ?

‘मेरो नहुने हो भने कसैको हुन दिन्न भन्ने मानसिकता नै होला दिदीको श्रीमान्को पनि,’ आफूसँग भएको घटनालाई याद गर्दै मुस्कान् बोलिन् ।

मुस्कानको आफ्नै पनि उपचार अझै चलिरहेको छ । फलो अपमा उनी हप्ताको दुईपटक कीर्तिपुर अस्पताल पुग्छिन् । त्यहाँ पुग्दा आरतीलाई नभेटी फर्किन्नन् । एकै खालका घटना, एकै खालका भोगाइबाट गुज्रिएका उनीहरुको कथा एसिडले दिएको घाउले जोडिदिएको छ । मुस्कानले त आरतीलाई आफूलाई बहिनी मान्नुहोस् समेत भनिसकेकी छिन् । आरती पनि मुस्कानसँग भेटेपछि अलि बढी मुस्कुराउने आँट बटुल्छिन् ।

तस्वीरः नजवुलको फेसबुकबाट

‘सरकारले आफ्नै कानून अनुसार सजाय देओस् तर, मैले भनेको एउटा कुरा मानिदेओस्’

आभाशा राष्ट्रिय अभियानकी अभियान्ता नजबुल खान भन्छिन्, ‘जबसम्म आशनमा महिला, भाषणमा महिला र शासनमा महिला हुँदैनन् तबसम्म यस्ता घटनाहरु रोकिँदैनन् ।’ महिला अधिकारको लागि लड्न विभिन्न ठाउँ पुग्ने नजबुलले आरतीसँग प्रत्यक्ष भेटेर उनको अवस्था नियालेकी छिन् र उनका भनाइहरु सुनेकी छिन्, बुझेकी छिन् । एसिड आक्रमणको विषयमा सरकारले जारी गरेको संशोधित कानूनअनुरुप अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने बताउँछिन् उनी ।

तर, आरती आफ्नो अपराधीलाई यति सजायमै सीमित गरेको हेर्ने पक्षमा छैनन् । उनी चाहन्छिन्, ‘बाँकी सजाय सरकारले आफ्नै नियमअनुसार देओस् तर, अपराधीलाई एकदिनको लागि नाङ्गेझार बनाएर जनकपुरभरि जञ्जिरले बाँधेर घुमाइयोस् ।’

तस्वीरः नजवुलको फेसबुकबाट

एसिड आक्रमण गर्नेलाई कस्तो सजाय छ संशोधित कानूनमा ?

एसिड आक्रमणका कारण मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था पहिल्यैदेखि रहिआएको थियो । तर, सरकारले हालै पास गरेको अध्यादेशअनुसार एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप कडा सजाय हुने व्यवस्था गरिएको छ ।

आँखा, नाक, कान, मुख, अनुहार र महिला भए स्तन तथा यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वर्षसम्मको कैद सजाय र ७ देखि १० लाखसम्मको जरिवाना तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेको खण्डमा पनि ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ र कसूर प्रमाणित भएमा १० वर्षसम्मको कैद र ५ लाख जरिवाना हुनसक्छ ।

यसअघिको कानूनी व्यवस्थाअनुसार एसिड आक्रमणबाट अंगभंग भए अपराधीलाई अधिकतम ८ वर्षको सजाय कैद हुँदै आएको थियो ।
त्यस्तै, एसिड आक्रमण गर्नेलाई मात्र नभएर खरिद तथा बिक्री गर्नेहरुका लागि पनि कडा व्यवस्था ल्याइएको छ । अब एसिडको बिक्री, वितरण, भण्डारन गर्नका निमित्त गृहबाट अनुमति पत्र लिनुपर्नेछ ।

नेपालमा एसिड आक्रमणको तथ्याङ्क…

नेपालमा केही वर्ष यता मात्र एसिड आक्रमणका घटनाहरु हुन थालेको तथ्याङ्कले देखाउँछ । नेपाल प्रहरीको तथ्याङ्क अनुसार वि सं २०७१ सालअघि यससँग सम्बन्धित घटना दायर नै भएका छैनन् ।

आर्थिक वर्ष २०७१÷७२ मा एसिड आक्रमणका ४ वटा घटना भए भने त्यसपछिको २०७२÷७३ सालमा दुई वटा र २०७३÷७४ मा घटेर एउटा मात्र घटना दर्ता भएको तथ्याङ्कले देखाउँछ ।

त्यसपछिका वर्षहरुमा भने घटना सङ्ख्यामा वृद्धि भएको देखिन्छ । आर्थिक वर्ष २०७४÷७५, २०७५÷७६ र २०७६÷७७ मा ४–४ वटा एसिड आक्रमणका घटना भएको देखिन्छ ।

चालु आर्थिक वर्ष २०७७/७८ को अहिलेसम्ममा एउटा घटना दायर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?