अथक योद्धा हरि वैरागी दाहाल स्मृति ग्रन्थ सार्वजनिक

किमाथाङ्का । जलविद्युत् अभियानकर्मी तथा सङ्खुवासभाका पूर्वसांसद हरि वैरागी दाहालका स्मृतिमा ‘अथक योद्धा हरि वैरागी दाहाल स्मृति ग्रन्थ’ आज सार्वजनिक गरिएको छ ।

पञ्चायतकालमै वामपन्थी राजनीति शुरु गरेका दाहाल २०५१ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट सङ्खुवासभा–२ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

ग्रन्थको नेकपाका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद गौतम र राजेन्द्र कार्की, जिल्ला अध्यक्ष हेमराज घिमिरेलगायतले सार्वजनिक गरेका थिए । सो अवसरमा सङ्घीय सांसद गौतमले दाहालले समाज परिवर्तन र विकासका लागि पुर्याएको योगदान भुल्न नहुने बताए । नेता कार्कीले निजी क्षेत्रको लगानीमा जलविद्युत् परियोजना बनाएर उनले सर्वसाधारणका घरमा उज्यालो पुर्याउने काम गरेको बताए।

विसं २०१४ कात्तिक २८ गते सङ्खुवासभाको मादीमा जन्मिएका दाहालको २०७६ साल असोज ३ गते हृदयाघातबाट मृत्यु भएको थियो । नेता दाहालको अगुवाइमा दुई दर्जनभन्दा बढी जलविद्युत् कम्पनी स्थापना भएका थिए । दाहाल राजनीतिक परिवर्तनसँगै २०४६ सालदेखि जलविद्युत् अभियानमा लागेका थिए ।

उनले २०५३ सालमा सङ्खुवासभाको पिलुवाखोलाबाट तीन मेगावाट क्षमताको साना जलविद्युत् आयोजना निर्माण गरेका थिए। उनले निजी क्षेत्रबाट जलविद्युत् आयोजना शुरुआत गरेर गाउँगाउँमा खेर गएको खोलाको पानीबाट बिजुली उत्पादन गर्ने लहर चलाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?