‘भरतपुर विमानस्थल बिस्तारको काम अघि बढ्यो’

चितवन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको बताएका छन् । भरतपुर महानगरपालिकाले मन्त्री भट्टराईको उपस्थितिमा आज यहाँ आयोजना गरेको विमानस्थल विस्तारसम्बन्धी छलफल कार्यक्रममा उनले विस्तारका कामहरु क्रमशः अघि बढेको बताएका हुन्।

विमानस्थलको नजिकै रहेको नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्र क्रमशः सार्दै लैजाने तर विस्तारको कामलाई नरोक्ने उनको भनाइ थियो । नेपाली सेनाको गण र घोडा प्रजनन केन्द्रका लागि वडा नं ११ को बसेनीमा आवश्यक जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाउन महानगरलाई उनले निर्देशन दिए ।

सेनाले हाल गण रहेको ठाउँमा उद्धार केन्द्र (रेस्क्यु सेन्टर) राख्न चाहेको र नयाँ ठाउँमा केही बढी जग्गा माग गरेकाले उनले दुबै प्रस्ताव सकारात्मक रहेको बताउनुभयो । उनले भने, “विमानस्थल विस्तारका लागि सबै सकारात्मक छन्, राज्यका कुनै निकाय असहयोगी छैनन् ।” बाहिर हल्ला गरिएजस्तो नेपाली सेना नकारात्मक नरहेको मन्त्री भट्टराईले स्पष्ट पारे ।

तराईका जिल्लाबाट चितवन नजिक भएकाले यहाँ उद्धार केन्द्र हुँदा सहज हुने मन्त्री भट्टराईको भनाइ थियो । हाल नेपाली सेनाको घोडा प्रजनन केन्द्र मात्रै व्यवस्थापन गर्दा पनि एक हजार ५०० मिटर धावनमार्ग बनाउन सकिने भएकाले स्थानान्तरणको काम र विस्तारको कामसँगसँगै अघि बढ्ने उनले जानकारी दिए ।

मन्त्री भट्टराईले विसं २०७६ भदौमा यहाँ छलफल भएसँगै तत्कालै छ सदस्यीय समिति बनाएर सो समितिले माग २३ गते प्रतिवेदन बुझाएको जानकारी दिँदै उहाँले सोही अनुसार काम अघि बढाउन लागिएको बताए ।

सो अवसरमा महानगरपालिका प्रमुख रेनु दाहालले महानगरले सुरक्षित विमानस्थल बनाउनुपर्छ भन्ने विषयमा गरेको प्रस्तावलाई मन्त्रालयले सकारात्मक रुपमा लिएका कारण प्रगति हुन सकेको बताइन् । उनले सेनालाई आवश्यक जग्गा उपलब्ध गराउन गर्नुपर्ने प्रक्रिया अघि बढाउन महानगर सकारात्मक रहेकाले पछिल्लो समयमा विमानस्थल आसपासमा मापदण्ड विपरीत घर निर्माण गर्न रोक लगाइएको जानकारी दिइन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, प्राधिकरणका राष्ट्रिय गौरव आयोजनाका प्रमुख प्रदीप अधिकारी, कालीबहादुर गण भरतपुरका गणपति विज्ञान खनाल, भरतपुर विमानस्थलका प्रमुख योगेन्द्र कुँवरले विमानस्थल विस्तारको हालसम्मको प्रगतिका बारेमा प्रकाश पारेका थिए ।

नक्साङ्कनको काम अन्तिम चरणमा पुगेको र दुई महिनाभित्रमा विस्तृत परियोजना प्रतिवेदन तयार हुने सो अवसरमा जानकारी गराइएको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?