कोरोनाका कारण पाकिस्तानका शैक्षिक संस्थाहरु फेरि बन्द, परीक्षा स्थगित

हङ्कङ । कोरोना भाइरसका संक्रमितहरुको संख्यामा वृद्धि हुदै गएपछि पाकिस्तानमा फेरी शैक्षिक संस्थाहरु बन्दको घोषणा गरिएको छ ।

सरकारी अधिकारीहरुले सोमबार गरेको घोषणा अनुसार आगामी बिहीवारदेखि शैक्षिक संस्थाहरु बन्द हुनेभएका हुन् । घोषणामा शैक्षिक संस्था अर्को बर्षको जनवरी १० तारिखसम्म बन्द गर्ने उल्लेख गरिएको छ ।

शैक्षिक संस्थाहरु बन्द हुनेभएपछि अहिले तय गरिएका सवै परीक्षाहरु पनि स्थगित गरिएको अधिकारीहरुले जानकारी दिएका छन् ।

यसैगरी इण्डोनेशियाको स्वास्थ्य मन्त्रालयले इण्डोनेशियामा थप चार हजार ४४२ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरेको छ । पछिल्लो पटक थपिएकाहरुसँगै इण्डोनेशियामा अहिलेसम्म कुल संक्रमितको संख्या पाँच लाख दुई हजार ११० पुगेको छ ।

इण्डोनेशियामा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित भएर मृत्यु भएकाहरुको संख्या १६ हजार दुई पुगेको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

मलेसियामा एक हजार ८८४ जना नयाँ संक्रमित थपिएका छन् भने कुल संक्रमितहरु ५६ हजार ६५९ जना रहेका छन् ।

बङ्लादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७६० जना संक्रमित भएका छन । तीमध्ये दुई हजार ४१९ जना अहिले थपिएका हुन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?