गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गर्भवती र सुत्केरीको हवाई उद्धार राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा हुँदै आएको स्पष्ट पारेको छ ।

हवाई उद्धार गरिएको विषय विभिन्न व्यक्ति, सङ्घसंस्था तथा विभिन्न निकायको पहलमा उद्धार भएको भनी विभिन्न सञ्चार माध्यममा समाचार सम्प्रेषण हुने गरेकोप्रति मन्त्रालयले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यसरी समाचार सम्प्रेषण गर्दा गर्भवती तथा सुत्केरीको हवाई उद्धारबारे सर्वसाधारणमा दुविधा उत्पन्न भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

समाचार सम्प्रेषण हुँदा वास्तविक रुपमा सेवा लिनुपर्ने लक्षित वर्गले उक्त सेवा लिन कहाँ र कसरी सम्पर्क गर्ने भन्नेबारेमा दुविधा उत्पन्न भइ सेवाग्राही प्रभावित हुने तथा यथार्थ सूचना र जानकारीबाट वञ्चित हुने गरेको मन्त्रालयले जनाएको छ । यसबाट समयमै उद्धार र उपचार गर्ने कार्यमा समेत ढिलाइ हुने र गर्भवती तथा सुत्केरीको ज्यान झन जोखिममा पर्ने देखिएकाले हवाई उद्धारको समन्वय सिधै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उत्थान समन्वय एकाईकै पहलमा भइरहेको मन्त्रालयले स्पष्ट पारेको छ ।

मन्त्रालयको राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय एकाईको समन्वयमा आर्थिक वर्ष २०७५÷०७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार सम्बन्धि कार्य गर्दै आएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा रहेको राष्ट्रपति महिला उतथान कार्यक्रमबाट नेपाली सेना, स्थानीय स्वास्थ्य संस्था, स्थानीय तह र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार सम्बन्धि कार्य हुँदै आएको मन्त्रालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?