संगीतको जादु : भेन्टिलेटरमा रहेका बिरामीले बजाए भायोलिन

काठमाडौं । अवकाशप्राप्त एक अमेरिकी सगीत शिक्षक कोरोनाबाट गम्भीर बिरामी भएपछि उटाहस्थित अस्पताल भर्ना भए । तर, संगीतको जादुु यहाँ पनि रोकिएन ।

आईसियुमा खुशी छर्नका लागि उनले भेन्टिलेटरमै रहेका बेला भायोलिन बजाएका छन् ।

ग्रोभर विलहेल्मसेनको शरीरमा विभिन्न उपकरणहरु जोडिएको थियो र उनी बोल्नसक्ने अवस्थामा थिएनन् । तर, आज्डेनस्थित म्याकके डि अस्पतालका स्वास्थकर्मीप्रति आफ्नो सम्मान दर्शाउन उनले यो तरिका अपनाए ।

७० वर्षीय यी बिरामीले एउटा कागजमा लेखेर भायोलिन बजाउने आफ्नो इच्छा पूरा गरिदिन स्वास्थकर्मीसँग आग्रह गरेका थिए । ‘म साँच्चै अस्पतालमा संगीत सुनाउन चाहन्छु । मेरी श्रीमीले भायोलिन र भायोला ल्याउँदा तपाईलाई कस्तो हुन्छ ?’ उनले कागजमा लेखेका थिए ।

यसपछि केही चिकित्सकहरुसँग स्विकृति लिएर अस्पतालकी नर्स सियरा सासेले उनलाई भायोलिन बजाउने इच्छा पूरा गर्न दिइन् । उनले भायोलिन बजाउँदै गर्दा निगरानीका लागि सासे उनकै कोठामा थिइन् ।

‘यसले मेरो आँखामा आँशु आयो । भेन्टिलेटरमा रहेका बिरामीले यस्तो गर्नु सबै कर्मचारीका लागि अकल्पनिय थियो,’ सासेले भनिन्, ‘उनी बिरामी भएपनि हौसिएका थिए । तपाई देख्नसक्नुहुनछ, संगीत उनका लागि कति अर्थपूर्ण थियो । यसले उनका नशाहरुलाई आराम दियो र उनलाई जिवन्त बनाइदियो ।’

ग्रोभरले भायोलिन बजाउँदै गर्दा सिसाले घेरिएको आईसियु आसपास कर्मचारीहरु भेला भएका थिए, उनीहरुले यी अवकाशप्राप्त शिक्षकको संगीतको धुन सुनिरहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?