काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–८ का दृष्टिविहीन खिलप्रसाद तिमल्सिनालाई विपद्को अवस्थामा जीविकोपार्जन गर्न निकै कठिन हुने गर्छ ।
विपद्मा सबैभन्दा बढी समस्या अपाङ्गता भएका व्यक्तिलाई हुने भएकाले स्थानीय तहको वडा तथा नगरस्तरीय विपद् व्यवस्थापन समितिमा अपाङ्गता भएका व्यक्तिको पनि प्रतिनिधित्व हुनुपर्ने आवाज उनले उठाउँदै आएका छन् । तिमल्सिनाले आफूहरू शारीरिकरुपमा कमजोर भए पनि सम्भव काम गरेर खान चाहेको बताउँछन् । उनी भन्छन्, “खेतीपातीले एक महिनामात्रै खानपुग्ने मेरो परिवारले कोरोनाको समयमा काम गर्न नपाउँदा निकै समस्या झेलिरहेका छौँ, यसको सुनुवाइ सरोकारवाला निकायले छिट्टै गरोस् भन्ने चाहेका छौँ ।”
विषम परिस्थितिमा हाल सो नगरमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सञ्चालन गरेको ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ परियोजनाले अपाङ्गता भएका स्थानीय व्यक्तिको जीवनशैलीमा परिवर्तन आउने उनको विश्वास छ । तर, विपद्मा सबैभन्दा बढी जोखिम वृद्ध, बालबालिका र अपाङ्गता भएका व्यक्ति नै हुने भएकाले जोखिम न्यूनीकरण समितिमा अपाङ्गता भएका व्यक्तिलाई राख्न सहज नभएको सो पालिकाका प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले बताए । उनले भने, “वर्षेनी अपाङ्गता भएका व्यक्ति केन्द्रित सीप विकासका कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, सहज वा विषम परिस्थितिमा अपाङ्गता वर्गलाई नगरले प्राथमिकतामै राखेको छ ।” नगरको कार्ययोजनाले सबै अपाङ्गता भएका व्यक्ति समेटिएको उनले जिकिर गरे ।
मण्डन देउपुरकै ६ नम्बर वडा निवासी शारीरिक अपाङ्गता भएको एवं अपाङ्गता महिला सङ्घको महासचिव पम्फा पुर्कुटी परियोजनाको अपाङ्गतामैत्री सूचना सामग्रीका कारण अपाङ्गता भएका व्यक्तिको जीवनमा परिवर्तन हुँदै गएको बताउँछन् । उनी भन्छन्, “उहाँहरूले समुदायस्तरका आफ्ना हकहित तथा पाउने सेवा लिन थालेका छन्, जोखिम न्यूनीकरण तथा विपद्मा राहत पाउने विधिलगायतमा अहिले उनीहरूको ध्यान केन्द्रित हुँदै गएको छ ।” परियोजनाको फोकल पर्सनसमेत रहनुभएका पुर्कुटीका अनुसार परियोजनामार्फत क्षमता अभिवृद्धिका तालीम भइरहेका छन् । नगरमा पाँच सयभन्दा बढी अपाङ्गता भएका व्यक्ति रहेको उनले बताए ।
काभ्रेपलाञ्चोककै भुम्लु गाउँपालिकास्थित शारीरिक अपाङ्गता भएका व्यक्ति एवं स्थानीय अपाङ्गता संस्थाका संयोजक चन्द्र लामा परियोजनाबाट सो समूहका स्थानीय व्यक्तिले केही लाभ लिइरहेको बताउँछन् । “परियोजनाले जीवनयापनमा सहजता ल्याउने सूचना सामग्रीसँगै क्षमता अभिवृद्धिका कार्यक्रमले यहाँका त्यस्ता व्यक्तिमा आकर्षण देखिएको छ, उनीहरूका आवश्यकताअनुसारका राहत दिलाउने आश्वासन पाएका छौँ”, उनले भने । गाउँपालिकाभित्रका अपाङ्गता भएका व्यक्तिलाई परियोजनाको सेवामा आबद्ध हुन आग्रह गरिएको उनले बताए ।
कोरोना भाइरसका कारण अपाङ्गता भएका व्यक्तिको जीवनशैलीमा परिवर्तन ल्याउने उद्देश्यले यस विषम परिस्थितिमा राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले सीबीएमको साझेदारीमा सञ्चालित ‘कोभिड–१९ को प्रतिकार्यमा अपाङ्गता समावेशीकरण’ नामक परियोजना काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नपा र भुम्लु गाउँपालिका तथा सिन्धुपाल्चोकको हेलम्बु र इन्द्रावती गाउँपालिकामा सञ्चालन गरिएको छ । परियोजना सञ्चालित स्थानीय तहमा भौतिक पूर्वाधार (क्वारेन्टाइन, स्वास्थ्य केन्द्र र बास केन्द्र) तथा सञ्चार सेवामा अपाङ्गता भएका व्यक्ति लक्षित पहुँचयुक्त गतिविधि भइरहेको परियोजनाकोे कार्यक्रम अधिकृत सुरक्षा ढुङ्गानाले बताए । “कार्यक्रमले अपाङ्गता भएका व्यक्तिले अब सूचना र सञ्चारका लागि अन्य समयजस्तै अवरोधको सामना गर्नुपर्ने छैन भन्ने अपेक्षा गरेका छौँ”, उनले भने । उहाँका अनुसार क्षमता अभिवृद्धि तालीमले अपाङ्गता भएका व्यक्ति परिवार तथा समाजमा नयाँ काम तथा सहजीकरण गर्न हौसिएको पाइएको छ ।
नेपालको संविधान विसं २०७२ को धारा २७ तथा अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ (पहिलो संसोधन, २०७५) ले अपाङ्गता भएका व्यक्तिको सूचनाको हकलाई सुनिश्चित गरेको छ । नेपालले अनुमोदन गरेको अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा २१ मा पनि यस हकको ब्याख्या गरिएको छ । उक्त महासन्धिको धारा ९ ले सबै किसिमका सूचना तथा सञ्चारप्रणाली पहुँचयुक्त हुनुपर्ने स्पष्ट उल्लेख गरेको छ । संयुक्त राष्ट्र सङ्घीय दिगो विकास लक्ष्य ९नं १००मासमेत अपाङ्गता भएका व्यक्तिको सामाजिक, आर्थिक र राजनीतिक मूल प्रवाहीकरणमा जोड दिँदै उनीहरूको अर्थपूर्ण र प्रभावकारी सहभागिताको व्यवस्था गरेको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया