७७ वटै जिल्लामा पैतालाका डोब छाडेका शरदले ‘मेरो दृश्यमा नेपाल’ ल्याउँदै

काठमाडौं । १५ महिनामा नेपालको ७७ वटै जिल्ला भ्रमण गरेर आफ्नो पहिचान बनाएका युवा शरद कोइरालाले आफ्नो अनुभवमा आधारित पुस्तक मेरो दृश्यमा नेपाल ल्याउने भएका छन् ।

लकडाउनको खालि समयलाई सदुपयोग गर्दै आफूले भ्रमणका अनुभवहरुलाई समेटेर पुस्तक निकालेको कोइरालाले बताए ।

उनले नेपाल भ्रमणपश्चात विश्व साइकल यात्रा शुरु गरेको तर कोरोना महामारीको कारण यात्रा रोकिएको उनले बताए ।

‘मैले मिति २०७४ र ५ र २० गते देखि सुरु गरि १५ महिना लगाएर नेपाल ७७ जिल्ला पैदल भ्रमण गरेको थिएँ । यो कुरा यहाँहरुलाई थाहा नै छ । नेपाल भ्रमणपश्चात मैले विश्व साईकल यात्रा सुरु गरेँ । तर कोरोना महामारीको कारण विश्व यात्रा रोकियो । लकडाउन पनि भयो । यही समयलाई सदुपयोग गर्ने हिसाबले मैले मेरो नेपाल यात्राका अनुभवलाई समेटेर एक किताब निकालेको छु ९ मेरो दृश्यमा नेपाल ।’ उनले भने ।

सबै नेपालीको साथ सहयोगका कारण आफूले यात्रा सहज भएकोले नै आफ्नो यात्रा संभव भएको उनले बताए ।

आफ्नो घुमाइको अनुभवलाई समेटिएको पुस्तक तयार भैसकेको र केही समयमा बजारमा आउने बताएका छन् । साथै पुस्तक पढेर प्रतिकृया दिन समेत कोइरालाले आग्रह गरेका छन् ।

  • शरदको यात्रा

गोजीमा ७ सय रुपैयाँ र दिदीसँग रोइकराइ गरेर किनिमागेको झोलामा केही जोर कपडा बोकेर वि।सं २०७४ सालमा देशको ७७ वटै जिल्ला पैदल यात्रा गर्न निस्किए १८ वर्षीया शरद कोइराला । त्यसवेला उनी १२ कक्षामा अध्यनरत थिए । जीवनलाई ‘एड्भेन्चरस’ बनाउने सोच पलाएपछि उनले पढाइ छोडे । कोर्सका किताबभन्दा जीवनको खुल्ला किताब पढ्ने भोकले आफ्ना उमेरका किशोरकिशोरीभन्दा फरक तरिकाले बाँच्न हुटहुटी लगाएको थियो उनलाई । २०७५ कात्तिकमा त्यो सपना पूरा भयो । १४ महिनामा शरदले देशका ७७ वटै जिल्लामा आफ्ना पैतालाका डोबहरु छाड्दै धुलिखेल फर्किए । विद्यालय, कलेजमा बिताएको केही घण्टाले सिकाउन नसकेको कुरा उनलाई यात्राले सिकाएको उनले बताए ।

‘बियर ग्रिल्सजस्तै नालाको पानी पिएँ’

शरदका दुई आइडल हुन् ‘बियर ग्रिल्स र पुष्कर शाह’ । डिस्कभरी च्यानलबाट प्रसारण हुने कार्यक्रम ‘म्यान भर्सेस वाइल्ड’का बियर ग्रिल्स र पृथ्वीलाई साढे ५ फन्को मार्ने नेपाली साइकलयात्री पुष्कर शाहबाट निकै प्रभावित छन् शरद । उनीहरुलाई देखेर नै आफूले यो यात्रा शुरु गरेको बताउछन् शरद । आफ्नो यात्रामा उनले बियर ग्रिल्सले जसरी नै तिर्खा मेटाउन नालाको पानीसमेत पिएको किस्सा सुनाए ।

यद्यपि यी सबै अनुभवहरु सँगालिरहँदा एकपटक पनि आफ्नो निर्णयमा ‘पश्चाताप’ नभएको बताउछन् शरद । बरु सुदूर पश्चिमको देउडादेखि पूर्वी नेपालको साकेलामा रमाउन पाउँदा ती सबै तीता यादहरु बिलाएको सुनाउछन् उनी ।

‘यस्तैले गर्दा देश विकास नभएको हो’

शरदको ‘ट्राभल डायरी’ का पन्नामा जति रोमाञ्चक र अविस्मरणीय क्षणहरुका थान छन् त्यति नै दुखद पलका किस्साहरु पनि । यात्राका क्रममा उनले भोक, लाज, निन्द्रा, दुखाइ सबै अनुभूतिहरु आस्वादन गर्नुपर्‍यो । चाउचाउको मसला खाएर जिब्रोलाई थुमथुमाएको क्षण होस् या त भोकभोकै मन्दिर र मस्जिदमा सुतेको अनुभव शरदको मस्तिष्कमा सबै यादहरु ताजा छन् ।

व्यक्तिगत अनुभवहरु त छँदै छन् शरदले अरु व्यक्तिको तीतो अभिव्यक्तिको शिकार समेत हुनुपरेको थियो यात्राका दौरान । त्यही क्रममा भएको एक घटना उनले यसरी सुनाए, ‘हिँडेर थाकेपछि म एक ठाउँमा आराम गरिरहेको थिएँ एउटा अन्कल मसँग कुरा गर्न थाले । मैले आफ्नो यात्रा र योजनाको बारेमा उनलाई सुनाएपछि उनले भने ‘यस्तै मान्छेहरुले गर्दा देश विकास नभएको हो, पढ्ने उमेरमा कस्तो पागलपन हो यो’ ।

यस घटनाले हामी नेपालीहरुको सोचाइस्तर झल्काउने बताउँदै शरद भन्छन्, ‘हरेक व्यक्तिको जीवन जिउने तरिका फरक हुन्छ, स्कुल र कलेजका किताबले मात्र मान्छेलाई शिक्षित बनाउने हो र ?’

आफ्नो मनको बाटो हिँड्न डराउनु हुँदैन भन्ने त शरदको जीवनले पनि सिकाउँछ । त्यसैले त आफ्नै परिवारको पूर्ण साथसहयोगविना र चौतर्फी निन्दा र आलोचनाका बावजुत पनि उनले आफ्नो यात्रा पूरा गरेरै छाडे ।

यो पनि
७७ वटै जिल्लामा पैतालाका डोब छाडेका २० वर्षे यात्री शरद भन्छन्, ‘नालाको पानीले तिर्खा मेटाएँ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?