रातोढुङ्गा सबस्टेशन अलपत्र

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रमा केन्द्रीय प्रसारण लाइनको विद्युत् आपूर्तिलाई सहज बनाउन निर्माणाधीन ३३/११ केभी क्षमताको रातोढुङ्गा सबस्टेशन अलपत्र परेको छ । मालिका गाउँपालिका–६ रातोढुङ्गामा दुई वर्षअघि नै सम्पन्न हुनुपर्ने सबस्टेशनको आधा मात्रै काम सकिएको छ । एटुजेड इञ्जीनियरिङले करिब रु आठ करोडमा ठेक्का लिएको सबस्टेशनमा लकडाउन भएयता काम भएको छैन ।

लक्ष्यअनुसार सन् २०१८ को डिसेम्बरमै मिलनचोकबाट रातोढुङ्गासम्म २२ किलोमिटर प्रसारण लाइन र सबस्टेशन बनिसक्नुपर्ने हो । सबस्टेशन निर्माणका लागि छनोट भएको जग्गा अधिग्रहण तथा प्रसारण लाइनको पोल रहने जग्गाको समस्याले ढिलाइ भएको आयोजना प्रमुख बोधराज ढकालले बताए । “पोल गाड्ने र सबस्टेशनका दुईमध्ये एक भवन बनिसकेको छ । उपकरण खरिद भइसकेको छ”, उनले भने, “लकडाउन नभएको भए रातोढुङ्गा सबस्टेशन करिब सकिन्थ्यो । घर गएका मजदुरलाई काममा फर्काउन पहल गरिएको छ ।”

सबस्टेशन निर्माण गर्न नेपाल विद्युत् प्राधिकरणले पाँच वर्षअघि रातोढुङ्गामा सात रोपनी जग्गा अधिग्रहण गरेको थियो । सबस्टेशन र प्रसारण लाइन निर्माण भएपछि पश्चिमी क्षेत्रको धवलागिरि, मालिका र मङ्गला गाउँपालिकामा केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा विस्तारमा सहज हुने मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताए ।

मिलनचोक सबस्टेशनबाट तीनवटा फिडरबाट लामो दूरीमा विद्युत् आपूर्ति गराउँदा समस्या भएको छ । बीस किलोमिटर दूरीसम्म एउटा सबस्टेशनबाट विद्युत् आपूर्ति गराउने मापदण्ड छ । असी किलोमिटरसम्म वितरण गर्नुपर्दा नियमित विद्युत् आपूर्ति गराउन समस्या भएको नेपाल विद्युत् प्राधिकरण म्याग्दी वितरण केन्द्रका प्रमुख माधव महतले बताए ।

पूर्वजानकारीबिनै छिनछिनमा विद्युत् आपूर्ति बन्द हुँदा घरायसी कामदेखि सार्वजनिक सेवा प्रवाह र उद्योग व्यवसायमा असर परेको छ । “दैनिक सयौँपटक विद्युत् आपूर्ति बन्द हुन्छ”, म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष उत्तम कर्माचार्यले भने, “विद्युत्को समस्याले उद्योग व्यवसायदेखि घरायसी कामकाज प्रभावित भएको छ ।”

नेपाल विद्युत् प्राधिकरणले लोडसेडिङ हटेको घोषणा गरे पनि म्याग्दीमा लागू हुन नसकेको उपभोक्ताहरुको गुनासो छ । “कतिबेला बिजुली आउँछ, कतिबेला जान्छ ? अत्तोपत्तो हुँदैन”, बेनीका फर्निचर व्यवसायी कुवीर श्रेष्ठले भने, “बिजुलीको समस्याले समयमा काम नहुने र लागत बढेको छ ।”

विद्युत्को व्यवस्थापनका लागि विकल्पमा जेनेरेटर खरिद गर्नुपरेको एबी बेकरी उद्योगका सञ्चालक विपिन बानियाँले बताए । ग्रामीण क्षेत्रमा महिनौँसम्म विद्युत् आपूर्ति नहुने समस्या छ । लामो दूरीको वितरण लाइन, दरबन्दीअनुसार कर्मचारीको अभाव, भौगोलिक विकटताका कारण नियमित विद्युत् आपूर्ति गराउन नसकेको प्राधिकरणको म्याग्दी वितरण केन्द्रले जनाएको छ । केन्द्रअन्तर्गत पर्वतको मल्लाजसहित १७ हजार घरधुरी उपभोक्ता छन् । मोदी सबस्टेशनबाट पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङका लागि मिलनचोकसम्म ३३ केभी र मिलनचोकदेखि रत्नेचौर, बेनी र घराप गरी तीनवटा ११ केभीको लाइन छन् ।

गाउँपालिकाको कार्यालय बन्द

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको कार्यालय आजदेखि एक हप्ताका लागि बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अध्यक्ष डमबहादुर पुनले एक सूचना जारी गरेर मङ्सिर ३ देखि ९ गतेसम्म सेवा बन्द गरिएको जानकारी गराउनुभएको छ । कात्तिक २८ गते गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सङ्क्रमित कर्मचारीको सम्पर्कमा रहेकाहरुको पहिचान र परीक्षणका लागि अत्यावश्यकबाहेकका सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाका अध्यक्ष पुनले बताएका छन्। कात्तिक २५ गते १५ जनाको स्वाब नमूना सङ्कलन गरेर परीक्षणका लागि पठाइएकामा एक जनामा कोरोना पोजेटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक समुन्द्र बरुवालले बताए । होम आइसोलेसनमा रहेका कर्मचारीको स्वास्थ्य अवस्था सामान्य छ ।

सङ्क्रमण फैलिन नदिनका लागि सेवा बन्द गरेर कन्ट्याक्ट टे«सिङ गर्न लागिएको हो । अन्नपूर्ण गाउँपालिकामा पहिलोपटक समुदायका व्यक्तिमा कोरोना पुष्टि भएको हो । यसअघि गाउँपालिकाले कात्तिक २४ देखि २८ गतेसम्म पालिकामा रहेका बैंक, सहकारी र वित्तीय संस्थाको सेवा बन्द गराएको थियो ।

यसअघि कोरोनाको जोखिमका कारण बन्द भएका बेनी नगरपालिका, मङ्गला र मालिका गाउँपालिकाको सेवा भने सञ्चालन भएको छ । हालसम्म १२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको म्याग्दीमा ३० सक्रिय संक्रमित छन् । सबै संक्रमित होम आइसोलेसनमा छन् । पछिल्लो समय म्याग्दीमा पनि लक्षणसहितका कोरोना संक्रमित भेटिन थालेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?