गाउँपालिकाका सबै वडा सडक सञ्जालमा जोडिए

डोटी । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने जोरायल गाउँपालिकाकाका सबै वडा यस वर्ष सडक सञ्जालमा जोडिएका छन् । सो गाउँपालिकाको रु १ करोडको लगानीमा त्यहाँका सबै वडामा सडक सञ्जाल पुगेको हो ।

सबै वडाभरीमा सडक सञ्जाल पुगेपछि स्थानीयबासीलाई यातायातका लागि सहज भएको छ ।

गाउँमा सडक पुगेपछि गाउँमा उत्पादन भएका तरकारी तथा अन्य अन्नबाली बजारसम्म पु¥याउन सकिने जनाउँदै स्थानीयबासीहरु खुशी भएको जोरायल–५ गड्सेराका दीर्धबहादुर बोगटीले जानकारी दिए ।

उनले भने, “सबै गाउँमा सडक पुगेको छ, किसानले उत्पादन गरेका चिज वस्तु बजार सम्म पुर्याउन सहज भएको छ, किसानको आयस्तर बढ्ने छ ।”

गाउँपालिकाका प्रत्येक वडा कार्यालयमा सडक सञ्जाल पु¥याउने उद्देश्यले सडक बिस्तारको काम तीब्र रुपमा अगाडी बढाइएको गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “पाँच वर्ष भित्र सबै वडा कार्यालयमा सडक पुर्याउने उदेश्य अनुसार हामीले काम अगाडी बढाएका थियौँ, समयमै काम सकियो यहि खुशीको विषय हो ।”

वडा कार्यालयसम्म सडक सञ्जाल पुर्याउने काम सँगसँगै टोलटोलमा सडक सञ्जाल बिस्तार गर्ने योजना गाउँपालिकाको रहेको उपाध्यक्ष जमुना बोहराले जानकारी दिए । यस्तै गाउँपालिकाले गाउँमा हुने बालविवाह न्युनीकरण र महिला हिँसा अन्त्यकालागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा ल्याएको उनको भनाइ छ ।

पछिल्लो समय गाउँपालिकाले बालविवाहले स्वास्थ्यमा नराम्रो असर पर्ने र भविष्यमा गएर विभिन्न हिंसा खेप्नुपरेकोले बालविवाह न्युनीकरणका लागि स्थानीयलाई अग्रसर गराउने कार्यको थालनी गरिएको बताइएको छ ।

कुल ६ वटा वडा कार्यालय रहेको सो गाउँपालिकामा गाउँमा बालक्लव, महिला निगरानी समूह गठन गरी महिलामाथी हुने हिंसा अन्त्यका लागि पहल गरी रहेको छ । गाउँपालिकाले बालविवाह न्युनीकरणको लागि अभियानकै रुपमा अगाडी बढाईरहेकोे छ ।

एकल महिला तथा विपन्न महिलाहरुलाई संगठित गरी उनीहरुको समस्या समाधानकोलागि एकल तथा विपन्न महिला समूह समेत गठन गरिएको उपाध्यक्ष बोहराले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?