झापा । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२ औं जन्मजयन्तीका अवसरमा आज भापाको काँकडभिट्टास्थित देवकोटापार्कमा युवाहरुको पहलमा दीप प्रज्वलन गरिएको छ ।
साहित्यप्रेमी स्थानीय युवाले आज देवकोटाको पूर्णकदको शालिकमा माल्यार्पणसहित देवकोटाले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानको स्मरण गरियो । नेपालको पूर्वी प्रवेशद्वार काँकडभिट्टामा २०५० सालमा देवकोटापार्कको स्थापनापछि २०५१ सालमा अर्धकदको र २०६९ सालमा पूर्णकदको शालिक स्थापना भएको सुसेली साहित्य प्रतिष्ठानका अध्यक्ष पुण्यप्रसाद खरेलले बताए ।
संविधानसभा सदस्य रवीन कोइराला, प्राज्ञ सभा सदस्य सुभद्रा अर्याल, प्रदेशसभा सदस्य श्रीप्रसाद मैनाली र राधा थापा, मेची नगरपालिकाकी कार्यवाहक नगरप्रमुख मीना उप्रेती, प्रदेश नं। १ का वन, उद्योग तथा पर्यटन मन्त्रालयका सचिव मेघनाथ काफ्लेलगायतले देवकोटाको शालिकमा माल्यार्पण गरेका थिए ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण थापाले २०६१ सालमा अज्ञात समूहले अर्धकदको शालिकको फुटाएर फालेपछि स्थानीय साहित्यप्रेमीको पहलमा पार्कको संरक्षण गर्दै पूर्णकदको शालिक स्थापना गरिएको बताए ।
युवाहरुले पार्कको व्यवस्थापन सम्हालेपछि पार्कमा शालिकको नियमित रङरोगन, पक्की घेराबारा, बाल उद्यान, शौचालयलगायतका संरचनाहरु निर्माण भएको पार्कको संरक्षणमा सक्रिय फणिन्द्र घिमिरेले बताए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया