निःशुल्क स्वास्थ्य शिविर

गोरखा । गोरखाको धार्चे गाउँपालिका–५ स्थित सिङ्लामा सम्पन्न निःशुल्क दन्त शिविरमा १५० बिरामीले सेवा लिएका छन् । हिमालय यात्रा नामक संस्थाद्वारा आयोजित सो तीनदिने स्वास्थ्य शिविरमा दन्तरोग सम्बन्धी बिरामीको निःशुल्क उपचार गरिएको थियो । शिविरमा उपचारका लागि आएकाहरुलाई स्वास्थ्य उपचारसँगै दाँत निकाल्ने लगायतका सेवा प्रदान गरिएको संस्थाका रामबहादुर गुरुङले जानकारी दिए ।

उपचारका लागि आएका मध्ये धेरैजसोमा दाँत दुख्ने समस्या रहेको पाइएको उहाँको भनाई छ । उनका भने, “एकसय जना भन्दा बढीको बिग्रिएका दाँत झिक्ने काम भयो ।” अधिकांश उपचारका लागि आएकाहरुमा नियमित दाँत नमाझ्ने समस्या रहेको दाँत नै झिकेर फ्याक्नु पर्ने अवस्था आएको चिकित्सको भनाई छ । लायन्स क्लव ३२५ बी १ का सिनियर एम्बेस्डर अफ गभर्नर अजित खड्काको संयोजकत्वमा भएको दन्त शिविरमा दन्त चिकित्सक शंकर श्रेष्ठ, निरोज क्षेत्री, मनोज हमाल लगायतले सेवा दिए। विकट गाउँमै दन्त शिविरमा दाँतको निःशुल्क उपचार पाएपछि सिङ्लाबासी समेत खुशी भएका छन् । सो अवसरमा शिविरमा आएकाहरुलाई करिब ६ वटा ब्रस तथा ६ सय वटा मञ्जन समेत वितरण गरिएको आयोजकले जनाएका छन् ।

टोलीमा सहभागी लायन्स तथा लियो क्लवका प्रतिनिधिहरुले सो क्रममा स्थानीयबासीको आँखाको समस्याको बारेमा पनि अध्ययन गरेको र आगामी दिनमा आँखाको रोगको शिविर पनि राख्न सकिने जनाइएको छ ।

खाद्यान्न वितरण

गोरखाको बिकट गाउँ धार्चे गाउँपालिका– ५, सिङ्लामा ७५ क्विन्टल खाद्यान्न वितरण गरिएको छ । तिहारका बेला पर्व मनाउन समस्या परेकाहरुका लागि हिमाली साथी फाउण्डेसनको समन्वय तथा सहयोगमा चामल, नुन तेल लगायतका खाद्य सामग्री वितरण गरिएको संस्थाका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । गाउँमा रहेका वृद्धवृद्धा, असक्त, अपांगताका परिवारलाई लक्षित गरि सहयोग उपलब्ध गराइएको उनले बताए । फाउण्डेसनले सिङ्लामा ३० किलो ग्राम दरका २५० बोरा चामल वितरण गरेको गरेको थियो ।

फ्रान्सका नागरिकको आर्थिक सहयोगमा स्थानीयलाई खाद्यान्न बितरण गरिएको र फाउण्डेसनले यस अघि पनि सिङ्लाका विपन्न परिवारलाई पटक पटक खाद्यान्न उपलब्ध गराउदै आएको जनाइएको छ । चाडवाडका बेला खाद्यान्न्न सहयोग पाएपछि त्यहाँ बिपन्न, असाहाय, वृद्धवृद्धा समेत खुशी भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?