सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहन्छ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले सङ्घीय सरकारको साथ र सहयोग स्थानीय सरकारलाई सधैँ रहने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालले आज यहाँ आयोजना गरेको ‘गाउँपालिकाहरुका असल अभ्यासहरुको संँगालो’ नामक पुस्तक लोकार्पण कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यले मात्र देश विकास सम्भव रहनेमा जोड दिए ।

विश्वभरि फैलिएको कोरोना महामारीको बेला स्थानीय तहले गरेको कामको प्रशंसा गर्दै स्थानीय तहको सकारात्मक कामले सङ्घ र प्रदेशको पनि प्रतिनिधित्व गर्ने धारणा उनले राखे । नेपाल सरकारका अन्य निकायलाई पनि यस्ता पुस्तक प्रकाशन गरी सबैलाई जानकारी दिन उनले सुझाव दिए ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकर्ण विष्टले निर्वाचित भएपछिको अब बाँकी दुई वर्षका अवधिमा पनि जनताकै हितमा काम गर्न जनप्रतिनिधिलाई शुभकामना दिए। नेपाली कांगे्रसका नेता गगनकुमार थापाले स्थानीय तहले गरेका राम्रा कामले गर्दा वर्तमान समयमा जनताले नजीकबाट सरकार भएको अनुभूति गरेको धारणा राखे । महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले पुस्तकले स्थानीय तहको आवश्यकता र महत्वका बारेमा थप प्रष्ट पारेको बताए ।

पुस्तकलाई पाँच विषयगत क्षेत्रमा विभाजन गरिएको छ । ‘संस्थागत सुद्दढीकरण सेवा प्रवाह र अन्तरसरकार समन्वय’, ‘भौतिक विकास’, ‘सामाजिक विकास’, ‘आर्थिक विकास’ र ‘वन वातावरण तथा विपत् व्यवस्थापन’ का विषय पुस्तकमा समेटिएको छ । मुलुकभरका ६६ जिल्लाका गाउाँलिकाका विवरण पुस्तकमा समेटिएका छन् । तीन वर्षका अवधिमा प्रदेश नं १ बाट ३८, प्रदेश नं २ बाट १९, वाग्मती प्रदेशबाट ६२, गण्डकी प्रदेशबाट ३१, लुम्बिनी प्रदेशबाट ३९, कर्णाली प्रदेशबाट २८ र सुदूरपश्चिम प्रदेशबाट २६ स्थानीय तहका अभ्यास यसमा समाविष्ट छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?