कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।

दिउँसो १ बजे कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बैठक बस्न लागेको कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

आजको बैठकमा आगामी १४ औँ महाधिवेशनको नयाँ मिति तोक्ने लगायत अन्य विषयमा छलफल हुने बुझिएको छ ।

लामो समयदेखि बैठक बस्नका लागि मिति तोकिएपनि विविध कारणले बैठक स्थगित हुँदै आएको थियो ।

बैठकमा विभाग, क्रियाशील सदस्यता वितरण, संगठन समायोजन, भ्रातृ संस्थाको पदावधि, विदेशस्थित जनसम्पर्क समितिलगायतमा पार्टीभित्रका विवादका विषयमा पनि छलफल हुने स्रोतले जनाएको छ ।

स्रोतका अनुसार कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै आन्दोलन घोषणा गर्ने कार्यक्रम रहेको छ ।

लामो समयपछि गत असोज १९ गतेबाट बस्ने गरी मिति तोकिएपनि बल्ल आज बैठक बस्न लागेको हो ।

गत असोज १९ गतेका लागि बैठक तोकिएको थियो । तर नेताहरुमा कोरोना देखिएपछि असोज २५ गतेसम्मका लागि सारिएको थियो । तर २५ गतेपनि बैठक बस्न सकेन । दशैपछि बस्ने भनिएको बैठक एकाएक कार्तिक २१ गतेका लागि मिति तोकिएको थियो । पार्टीभित्र विवाद बढिरहँदा २४ गतेका लागि पुनः बैठक सारिएको थियो । २४ गतेबाट आगामी बैठक २७ गते बिहीवार अर्थात भोलीका लागि बैठक बस्ने निर्याय गरिएकोमा शुक्रवार सम्मका लागि बैठक सारिएको हो ।

यद्यपी पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारीहरुको बैठक भने बसिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?