कञ्चनपुर । महाकाली कोरिडोरको ब्रह्मदेव कौवानी त्रिशुलीधारसम्म रुख कटान गर्नका लागि प्रक्रिया अघि बढाइएको छ । सडक निर्माण हुने क्षेत्रको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत भएर आएको छ । सडक क्षेत्रमा पर्ने रुखको लगत लिने कार्य सँगै नम्बर राख्ने कार्य गरी मन्त्रालयमा स्वीकृतीका लागि पठाइएको छ ।
मन्त्रालयबाट लगत स्वीकृत भएर आएपछि रुखमा छपान गर्ने कार्य सँगै कटानीको कार्य हुने डिभिजन वन कार्यालयका सूचना अधिकारी शिवराज अवस्थीले बताए ।
इआइए नहुँदा अहिलेसम्म ब्रह्मदेब कौवानी खण्डमा निर्माण सडक निर्माण सुरु हुन सकेको छैन । इआइए नभएका कारण पहिलो वर्षमै यस खण्डमा निर्माणमा अवरोध गरिएको थियो । सरकारले सडक बनाउन शुरु गरेकै वर्ष विसं २०६६ मा ब्रह्मदेवमा ठेक्का गरी काम अघि बढाएको थियो ।
गत वर्ष इआइए गरिएपछि डिभिजन वन कार्यालयले सडक क्षेत्रमा पर्ने रुख कटान प्रक्रिया अघि बढाएको हो । “इआइए रिपोर्टअनुसार सडक क्षेत्रमा पर्ने रुखको लगत लिइएको छ, काट्ने अनुमति आएपछि छपान गरी काट्न सुरु गर्छौ” डिजिभन वन कार्यालयका सूचना अधिकारी अवस्थीले भने ।
सूचना अधिकारी अवस्थीका अनुसार करिडोर निर्माण क्षेत्रमा पर्ने एक हजार नौ सय १२ रुखको लगत लिइएको छ । सुदूपश्चिम प्रदेश वन निर्देशनायले डिभिजनलाई रुखको लगत लिन गत महिना पत्राचार गरेको थियो । सरकारले चीन र भारतसहित त्रिदेशीय व्यापारका लागि दार्चुलाको तिंकरसम्म महाकाली करिडोर बनाउने कार्यलाई तिव्र रुपमा अगाडि बढाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया