दमौली । तनहुँको दुई पालिका जोड्न बरखोलामा पक्की पुल निर्माण शुरु भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा पक्की पुल निर्माण शुरु भएको हो । गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत तीन करोड ९८ लाख ६३ हजार दुई सय ७७ को लागतमा पक्की पुल निर्माण शुरु भएको हो । उक्त पुलको गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गरेका छन् ।
सोा अवसरमा मन्त्री गुरुङले आवश्यक स्थानमा प्रदेश सरकारले पुल निर्माण गर्दै जाने बताउनुभयो । सम्भाव्यता अध्ययन गरी आगामी आर्थिक वर्षमा आवश्यक अन्य स्थानमा पनि पुल बन्ने बताउँदै मन्त्री गुरुङले सिचाइँका आयोजना, एक घर एक धारा खानेपानीको कार्यक्रम र प्रदेशका सबै घरधुरीमा बिजुली बत्ती पु-याउने कार्यक्रम प्राथमिकता साथ अगाडि बढाएको जानकारी दिनुभयो । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले पुलको काम समयमै सक्न निर्माण कम्पनीलाई आग्रह गरे। शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसन गुरुङले जनताका समस्या तीन तहका सरकार मिलेर समाधान गर्ने बताउनुभयो । भीमाद नगरपालिकाका प्रमुख मेखबहादुर थापाले दुई स्थानीय तहलाई जोड्ने पुललाई मितेरी पुलको रुपमा विकास गर्नुपर्ने बताए ।
मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर पोखराले पुल निर्माणको ठेक्का पाएको छ । पूर्वाधार विकास कार्यालयका प्रमुख ओमराज ढुङ्गानाका अनुसार पुल ३२।४ मिटर लामो हुनेछ । विसं २०७८ असार २२ गतेसम्म पुल निर्माण सम्पन्न हुनेछ । नदीले वर्षामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न एक हजार तीन सय घनमिटर ग्याबिन भरिने उनले जानकारी दिए ।
दुई पालिका जोड्ने पक्की पुल निर्माण शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । वर्षाको बेला बालबालिका विद्यालय आउजाउ गर्दा ज्यानको बाजी थापेर खोला तर्नुपर्दा समस्या हुने गरेको थियो । पुल बनेपछि अब राहत मिल्ने स्थानीय बुजोसत्त महतले बताए। “खोला तर्नलाई बनाएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको छ,” उनले भने, “खोला उर्लिदा सवारीसाधन चल्दैन । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउला भन्दैमा दिन बित्छ ।”
गाउँपालिकामा शोक बिदा
तनहुँको बन्दीपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको दुःखद क्षणमा गाउँपालिकाले शुक्रवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
संविधानसभा सदस्य, पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री गौतमको असामयिक निधनले बन्दीपुर गाउँपालिका मर्माहत भएको र शोकको घडीमा मृत आत्माको चीरशान्तिको कामना गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिए ।
उनका अनुसार सार्वजनिक बिदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एवं गाउँपालिका मातहतका कार्यालय पूर्ण रुपमा बन्द रहनेछन् । गौतमको आज आफ्नै निवासमा निधन भएको हो । विगत केही समयदेखि विरामी परेका गौतम चितवनस्थित अस्पतालबाट उपचार पश्चात् घर फर्किएका थिए । उनको आजै देवघाटमा दाहसंस्कार गरिएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया