भीमेश्वर । नेपालको स्वीट्जरल्याड भनेर चिनिने दोलखाको पर्यटकीयस्थल जिरी बजारसम्म पुग्ने सडक विस्तारका लागि जिल्ला सदरमुकाम चरीकोटबाट तामाकोशीसम्म १२ किलोमिटर सडक कालोपत्र गर्ने काम सकिएको छ ।
सदरमुकाम चरीकोटबाट ५५ किलोमिटर टाढा रहेको जिरीसम्म पुग्न साँघुरो, घुमाउरो र सानो सडक भएकाले यसलाई सुधार्ने कार्यक्रमअन्तर्गत अहिले ४७ प्रतिशत काम पूरा भएको छ । चरीकोटबाट १७ किलोमिटर तल रहेको तामाकोशी बजारसम्म अबको केही दिनमा नै कालोपत्र पूरा हुने भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले बताए । प्रमुख केसीका अनुसार केही दिनभित्रै मुढेबाट चरीकोट र चरीकोटबाट तामाकोशीसम्म सडक मर्मत सुधार भई भीमेश्वर नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटक र आगन्तुलाई सहज रुपमा आवतजावत गराउन सकिनेछ ।
जिरीसम्म कालोपत्र गर्ने जिम्मा भारतको उडहिल इन्फ्रास्ट्रक्चर लिमिटेड कम्पनी र नेपालको लामा कन्ट्रक्सन कम्पनी लिमिटेडले संयुक्तरुपमा पाएको छ । यी कम्पनीलाई काम पूरा गर्ने अन्तिम समय २०७८ भदौसम्म दिइएको नेपाली पक्षका कम्पनीका कन्ट्याक्ट म्यानेजर रवीन्द्र श्रेष्ठले जानकारी दिए।
भीमेश्वर–९ का धनबहादुर तामाङका अनुसार पहिले लामोसाँघुबाट चामल, नुन, तेल लगायतका विभिन्न खाद्यन्न तथा कपडा ल्याउने भएकोले विदेशीहरु त्यही बाटो भएर जिरी हुँदै सगरमाथासम्म जाने गरेका थिए । विदेशी त्यसरी यात्रा पार गर्दा स्थानीय दोलखावासीको दुःखको नजिबाट अनुभूति गर्ने गरेका थिए । नेपालीले कोदाको ढिँडो खाएको देख्दा कति कालो खाना खाएको भनेर उनीहरु आश्चर्यमा पनि पर्ने गरेका थिए ।
अर्का स्थानीयवासी भक्तबहादुर श्रेष्ठका अनुसार आफूहरुले बोकेको ढाकार र तोक्मा तथा यति लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता देखेर सगरमाथा जाने ढोकाको रुपमा लामोसाँघु–जिरी सडक विस्तारमा विदेशीले सहयोग गरेका हुन् ।
लामोसाँघु–जिरी सडक खण्डअन्तर्गत हाल खाडीचौरबाट मढेसम्म कालोपत्र भइसेकाले आगामी दिनमा मुढेबाट चरीकोट र चरीकोटबाट–तामाकोशी हुदै जिरी सम्मको सडक मर्मत सुधार भई आवतजावतमा सहज भएमा आन्तरिक र बाह्य पर्यटकको उल्लेखनीय वृद्धि हुनेछ ।
सडक विस्तारसँगै दोलखाको लोकप्रिय कालिञ्चोक भगवती मन्दिर, भीमेश्वर मन्दिर, जिरी बजार, छ्वोरोल्पा हिमतालजस्ता धार्मिक तथा संस्कृतिक महत्वको स्थानमा पुग्न सहज हुनेछ ।
लामोसाँघु–जिरी सडक स्वीस् सरकारको सहयोगमा विसं २०३१ सालदेखि खाडीचौरबाट खन्न शुरु भएको थियो भने २०३४ सालमा एकतर्फी गाडी सञ्चालन हुने गरी कालोपत्र भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया