तालिबानहरुले युद्धविराम गरेको भए पनि हिंसात्मक हमला रोकेका छैनन् : अफगान राष्ट्रपति घानी

काबुल । तालिबानहरुले नागरिकमाथिको हमलाहरु घटाउने भनेको भए पनि अफगानिस्तानमा हिंसामा कमी नआएको अफगान राष्ट्रपतिले जानकारी दिएका छन् ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले मंगलबार सो कुरा बताएका छन् । उनले क्षेत्रीय शान्ति र प्रगतिका लागि सबै आतंकवाद नियन्त्रणसम्बन्धी सम्झौताहरु कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् ।

सांघाइ कोअपरेसन अर्गनाइजेसन सम्बन्धी सम्मेलनलाई भिडियो कन्फ्रेन्सका माध्यमबाट सम्बोधन गर्दै उनले सो कुरामा जोड दिएको बताइएको छ । उनले भने– अफगानिस्तानले विभिन्न खालका आतंकवादी क्रियाकलापहरु सहनुपरेको र देशले ठूलो हिंसा पनि व्यहोर्नुपरेको छ । यी सबै आतंककारी क्रियाकलापहरुलाई नियन्त्रणमा गर्न सबैको सहयोगका अपेक्षा गरेका छौँ ।
उनले पछिल्लो समयमा तालिबानहरुले शान्ति वार्ताको शुरुवात गरेका छन् र उनीहरुले सर्वसाधारण नागरिकमाथि हमला नगर्ने पनि बताएका छन् भने ।

तर उनीहरुले यस्ता जतिसुकै प्रतिबद्धताहरु व्यक्त गरेको भए पनि हमला गर्न भने नछोडेका बताए । ताबिलानहरुले शान्ति वार्ताको शुरुवात गरेपछि यस्तो खालको हिंसा नहुने बताएका भए पनि अफगानिस्तानका विभिन्न क्षेत्रमा हिंसात्मक हमला गर्न भने नछोडेको कुरा दोहोर्याए।

अफगानिस्तानको टोलो न्युजका अनुसार अफगान राष्ट्रपति घानीले यसअघि पनि शान्ति वार्ताको लागि भन्दै तालिबानहरुले युद्धविराम गरेका र शान्ति वार्ताका लागि भन्दै हिंसात्मक खालका हमलाहरु नगर्ने भनेको भए पनि उनीहरुले त्यस्तो इमान्दारिता नदेखाएका बताए ।

पछिल्ला दिनहरुमा पनि तालिबानहरुले अफगानिस्तानमा हमला गर्न नछोडेका र सर्वसाधारण नागरिकहरुको ज्यान दिन प्रति दिन गइरहेको उनले बताउनु भएको टोलो न्यूजले बताएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?