भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमितको संख्या न्यून

नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट सक्रिय संक्रमित अवस्थामा रहेकाहरुको संख्या पछिल्लो तीन महिनाकै सबैभन्दा कम भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार गत १०६ दिन यताको सबैभन्दा कम भएको हो ।

यो बीचमा पाँच लाखभन्दा धैरै मानिस सक्रिय संक्रमित अवस्थामा रहने गरेकोमा अहिले पाँच लाखभन्दा कम भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अहिले पनि सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्या चार लाख ९४ हजार ६५७ रहेको छ ।

“संक्रमित अवस्थामै रहेकाहरुको संख्या अहिले घट्दै जानु सुखद कुरा हो, भारतमा दैनिक संक्रमितहरुको संख्यामा पनि कमी आएको छ,” स्वास्थ्य मन्त्रालयले भनेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा संक्रमित भएकाहरुको संख्या ४४ हजार २८१ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म ८६ लाख ३६ हजार १२ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसकै कारणले कम्तीमा ५१२ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको संख्या एक लाख २७ हजार ५७१ पुगेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?