सामुदायिक वन क्षेत्रमा नयाँ पोखरी निर्माण तथा जिर्णोद्धार

लहान । डिभिजन वन कार्यालय लहानले आर्थिक वर्ष २०७६/७७ मा नयाँ पोखरी निर्माणसँगै जिल्लाका विभिन्न स्थानका सामुदायिक वन क्षेत्रमा १५ वटा पोखरीको जिर्णोद्धार गरेको छ । सिमसार क्षेत्र सम्भार तथा जिर्णोद्धार कार्यक्रमअन्तर्गत लहान नगरपालिका–१५ स्थित भरोसिया सामुदायिक वन, झौवाई खोल्सी सामुदायिक वन, बाबाजी सामुदायिक वन, लहान नगरपालिका–२४ स्थित खप्डेडाँडा सामुदायिक वन, सिउलाडिह सामुदायिक वन, कर्जन्हा नगरपालिकास्थित नन्दबाबा सामुदायिक वन र नरहा गाउँपालिका–३ स्थित जोभा प्राकृतिक सामुदायिक वन क्षेत्रमा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय लहानका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिए ।

यस्तै आर्थिक वर्ष २०७६/७७ मै सिमसार क्षेत्र मर्मत कार्यक्रमअन्तर्गत लहान–१७ स्थित गोविन्दमुरारी सामुदायिक वन, कोइरालो खोला, नौडेगा सामुदायिक वन, गोलबजार नगरपालिकास्थित लामाडाँडा, कर्जन्हा नगरपालिकास्थित कमला किनार र लहान नगरपालिका–१७ को राजदेवी मन्दिर क्षेत्रको पोखरी जिर्णोद्धार गरिएको प्रमुख दासले बताए ।

कार्यालयले वन, वन्यजन्तु, जैविक विविधताको संरक्षण र व्यवस्थापन तथा आर्थिक उपार्जनका लागि विभिन्न गतिविधिमा जोड दिँदै ती पोखरीको जिर्णोद्धार गरेको हो । विगत एक वर्षको अवधिमा सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रमलाई प्रभावकारी ढङ्गले कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै प्रमुख दासले सङ्घीय तथा प्रदेश सरकारबाट प्राप्त वार्षिक कार्यक्रम सबै पक्षको सहयोगमा सतप्रतिशत कार्यान्वयन गराउन सफलता मिलेको बताए ।

डिभिजनल वन कार्यालयले एक वर्षे अवधिमा दुई स्थानमा सिमसार क्षेत्रको संरक्षण तथा एक स्थानमा अतिक्रमण हटाई वन व्यवस्थापन गर्नुका साथै विभिन्न जातका १५ लाख बिरुवा उत्पादन गरेर सतप्रतिशत लक्ष्य प्राप्त गरेको प्रतिवेदनमा जनाइएको छ । यस्तै ग्रामीण भेगका वनमा विविध जातका बिरुवा उपलब्ध गराइरहेको तथा चुरे क्षेत्र संरक्षणका लागि समेत विशेष कार्य योजना तयार पारेको प्रमुख दासको भनाइ छ ।

वन्यजन्तु र जैविक विविधताको संरक्षण गर्न सरोकारवाला समेतको रायसुझावमा एकीकृत कार्ययोजना बनाएर बढ्दा सफलता मिल्दै गएको उहाँले बताउनुभयो । यस्तै तयार गरिएको योजनामा चोरी तथा वन अतिक्रमण नियन्त्रण, वृक्षरोपण, जीविकोपार्जनका लागि वैकल्पिक कार्यक्रम र सामाजिक सशक्तीकरणलाई प्राथमिकतामा राखिएको छ । बर्सेनि जङ्गल क्षेत्र कम हुँदै गई साँघुरो बन्दै जानु, जङ्गली जनावरको अस्तित्व सङ्कटमा पर्नु तथा हरियाली प्रवद्र्धन कार्यसमेत प्रभावित भइरहेका बेला वन कार्यालयले तयार पारेको कार्ययोजनाले जिल्लालाई आफ्नै क्षेत्रको वनमा आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

९५ डुम परिवारका लागि पक्की घर

वर्षौँदेखि फुसको छाप्रोमा जीवन बिताउँदै आएका सिरहाको कल्याणपुर नगरपालिका र कर्जन्हा नगरपालिकाका ९५ डुम परिवारका लागि पक्की घर निर्माण शुरु भएको छ । सरकारले सञ्चालन गरेको जनता आवास कार्यक्रमअन्तर्गत कल्याणपुर–३ मा ५७ डुम परिवार र कल्याणपुर–११ बगहामा ३७ डुम परिवारको पक्की घर निर्माण कार्य थालिएको छ ।

यसै वर्षभित्र घर निर्माण सम्पन्न भई हस्तान्तरण गरिने योजना रहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजले जनाएको छ । तराई मधेशमा सबैभन्दा तल्लो पिंँधमा जीवन बिताइरहेको र सामाजिक विभेद छुवाछूत तथा चरम आर्थिक सङ्कट खेपिरहेका डुम समुदायको पक्की घर निर्माण भएपछि उनीहरुको जीवनमा अर्थपूर्ण परिवर्तन आउने प्रदेशसभा सदस्य दिलीपकुमार साहले बताउनुभयो । वर्षौँदेखि ऐलानी जग्गामा सुकुम्बासीको भएर बस्दै आएका डुम समुदाय पक्की घर पाउने भएपछि खुसी भएको छ ।

सिरहामा करिब चार हजार घरधुरी रहेको डुम समुदायले बाँसको नाङ्लो, हाते पङ्खा, ढकिया, कोनियालगायतका सामग्री बनाएर जीविकोपार्जन गर्दै आएको छ । सिरहामा यस वर्ष जनता आवास कार्यक्रमअन्तर्गत ४१० दलित, विपन्न, अल्पसङ्ख्यक समुदायको पक्की घर निर्माण हुने शहरी विकास तथा भवन निर्माण कार्यालयले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?