पाकिस्तानमा संक्रमितको नयाँ रेकर्ड : एकैदिनमा १५ सय बढी संक्रमित

इस्लामावाद । पाकिस्तानमा फैलिएको दोस्रो चरणको कोरोनाभाइरसको महामारीका क्रममा संक्रमितको संख्या अत्यधिक वृद्धि हुदै गएको छ ।

सरकारी अधिकारीहरूले गत जुलाईपछि शनिवार अहिलेसम्मकै धेरै सङ्क्रमितहरू भेटिएको जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिवार मात्रै पाकिस्तानमा एक हजार ५०० भन्दा बढी संक्रमित भएका छन् ।

पाकिस्तानको राष्ट्रिय कमाण्ड तथा अप्रेसन सेन्टरले दिएको जानकारी अनुसार शनिबार एक हजार ५४३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

पाकस्तिानमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरूको संख्या १७ हजार ५२० रहेको अधिकारीहरुले जनाएका छन् ।

मास्क नलगाई बाहिर हिड्नेलाई एक सय रुपैया जरिवाना तिराउने र एक हजार जनासम्म सहभागी भएर बैबाहिक कार्यक्रम गर्न पाइने व्यवस्था सरकारले गरेपछि आलोचना भइरहेका बेला संक्रमितहरु बढ्दै गएको विवरण सार्वजनिक भएको हो ।

सरकारले गत शुक्रवार मात्रै मास्क नलगाउनेलाई एक सय रुपैया जरिवाना तिराउने र भेटेकै ठाउँमा तीन ओटा मास्क उपलब्ध गराउने निर्णय गरेको थियो ।

त्यसैगरी हरेक सरकारी तथा निजी कार्यालयले ५० प्रतिशत कर्मचारीहरूलाई मात्रै कार्यालयमा बोलाउन पाउने व्यवस्था पनि सरकारले गरेको थियो ।

स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. जाभेद अर्कामले मास्क लगाउनु पर्ने नियमको उलङ्घन भइरहेको र मास्क नलगाउनेलाई एक सय रुपैँया जरिवाना तिराउने नियम ठट्टा जस्तो मात्रै भइरहेको टिप्पणी गरे ।

उनले नियम उल्लङ्घन गर्नेलाई कम्तीमा दश हजार जरिवाना तिराउनु पर्ने उनको सुझाव थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?