बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको छ । आजबाट वडा नं. १२ मा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएसँगै सरकारी स्वास्थ्य संस्थाको संख्या १४ पुगेको हो ।
वडा नं। १२ को मोहनाजोत भाटामा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख वासुदेव घिमिरेले शुभारम्भ गर्दै हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामले तीव्रता पाएको बताए । चालु आर्थिक वर्षमैं वडा नं। ९ मा समेत स्वास्थ्य केन्द्र स्थापना गर्ने तयारी छ । स्वास्थ्य केन्द्रका आफ्नै सुविधासम्पन्न भवनहरु पनि निर्माण भइरहेका छन् ।
हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १२, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा आएका छन् । आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन् । नगर प्रमुख घिमिरेले पछिल्लो समय सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै सरकारी स्वास्थ्य संस्थाबाट पनि गुणस्तरीय सेवा पाइन्छ भन्नेमा विश्वस्त रहन नगरवासीलाई आग्रह गरे ।
आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवा उपलब्ध छन् । नगर उपप्रमुख जगेश्वरदेवी चौधरी, वडा नं. १२ का वडाध्यक्ष सहदेव थारु, स्वास्थ्य शाखा प्रमुख मोतीप्रसाद पौडेल, सिनियर अहेव अधिकृत गणेश गौतमलगायतले आधारभूत स्वास्थ्य सेवाको चर्चा गरेका थिए। रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया