शंखधरको प्रतिमामा माल्यार्पण कार्यक्रम भीडभाडरहित हुने

भक्तपुर । आगामी मङ्सिर १ गते पर्ने नेपाल संवतको नयाँ वर्ष ११४१ का दिन मध्यपुरथिमिस्थित राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखबाट हुँदै आएको माल्यार्पण कार्यक्रम यस वर्ष औपचारिकतामा मात्रै सिमित गरिने भएको छ ।

राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आज आयोजना गरेको पत्रकार सम्मेलनमा प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठले कोभिड–१९ का कारण विगतका वर्षमा झै भव्यरुपमा कार्यक्रम नगरी औपचारिकतामा मात्रै कार्यक्रमलाई समिति गरिने तयारी गरिएको जानकारी दिए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शंखधर साख्वाःको शालिकमा माल्यार्पण गर्न आइदिन आग्रह गरिएको बताउदै उनी आउन नसक्ने परिस्थिति आएमा सरकारका प्रतिनिधित्व गराएर प्रधानमन्त्रीको भिडियोसहितको शुभकामना सन्देश जारी गर्न पहल भइरहेको जानकारी दिए।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले राष्ट्रिय अन्तर्राष्ट्रिय चर्चामा रहने माल्यार्पण कार्यक्रमलाई सामाजिक दूरी कायम गरेर पर्वको रुपमा मनाउनु पर्नेमा जोड दिए ।

भिन्तुना लीका संयोजक प्रदीपजामुन श्रेष्ठले यस वर्ष नेपाल संवतका अवसरमा मोटरसाइकल र साँस्कृतिक र्‍याली तथा मण्डला प्रतियोगिताहरु नगरिने बताए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?