लमजुङ । कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आइतबारदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ । वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन, मूल्यांकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७७ अनुसार यहाँका विद्यालयले कक्षा ११ को परीक्षा सञ्चालन गर्ने भएका हुन् ।
कार्यविधिअनुसार परीक्षा तालिका सार्वजनिक गरेर जिल्लाका अधिकांश विद्यालयले परीक्षा सञ्चालन गर्न लागेका छन् । राष्ट्रिय परीक्षा बोर्डको निर्देशनअनुसार कक्षा १२ को परीक्षा हुनु अगावै कक्षा ११ को परिक्षा लिइसक्नुपर्ने भएकाले कोरोनाको त्रासका बीचमा स्वास्थ्य मापदण्ड अपनाएर परीक्षा सञ्चालन गर्न लागिएको विभिन्न विद्यालयका प्रधानाध्यापकले जनाएका छन् ।
बेँसीशहर नगरपालिका–७ मा रहेको जनविकास माध्यमिक विद्यालयका प्रधानाध्यापक रत्नमान श्रेष्ठले भने, “विद्यालयमा एउटा हेल्प डेस्क राख्छौ, अनिवार्य मास्क, सेनिटाइजर लगाउन लगाउँछौ अनि सामाजिक दूरी कायम गर्दै आइतवारदेखि परीक्षा लिनेछौँ ।” यस विद्यालयमा कक्षा ११ मा ३००जना विद्यार्थीले परिक्षा दिने उनको भनाइ छ । प्रत्येक बेन्चमा दुई–दुई जना राखिने बताइएको छ ।
कोरोनाको जोखिमका बीच कक्षा ११ को परीक्षा दिन विद्यालयमा आउने विद्यार्थीलाई स्वास्थ्य तथा सुरक्षाका सबै प्रक्रिया पूरा गरेर परीक्षा हलमा प्रवेश गराइने सोही वडामा रहेको मस्र्याङ्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिबाबु थापाले बताए । त्यस्तै यस नगरपालिकाको वडा नं। २ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयले समेत यही कात्तिक २३ गतेबाट कक्षा ११ को परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरी सकेको र सोही तालिकाअनुसार परीक्षा सञ्चालन हुने विद्यालयका प्रधानाध्यापक तीर्थ न्यौपानेले जानकारी दिए ।
त्यस्तै मस्र्याङ्दी गाउँपालिकाका वडा नं। ३ खुदीस्थित अमर माध्यमिक विद्यालयमा भने कक्षा ११ को परीक्षा स्थगित भएको छ । जिल्लाका अन्य विद्यालय जसरी यस विद्यालयमा समेत आइतवारदेखि परीक्षा सञ्चालन हुने केही दिनबाट तयारीमा रहेको सो विद्यालयका एक शिक्षकलाई कोरोना संक्रमण पुष्टि भएपछि परीक्षा तिहारसम्मका लागि स्थगित गर्दै विद्यालय बन्द गराइएको विद्यालयका प्रधानाध्यापक तीर्थ बस्नेतले बताए । सो विद्यालयको कक्षा ११ को परीक्षा दिने विद्यार्थी ४६ जना रहेका उनको भनाइ छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया