भगवान बनाउने मान्छे !

काठमाडौं । मानिसलाई भगवानले बनाएका हुन् हामी सबैले यो कुरा सुन्दै आएका छौँ । कहिलेकाहीँ राम्रो मान्छे देख्दा ‘यसलाई त भगवानले फुर्सदमै बनाएका रहेछन्’ भनेर भगवानलाई नै सम्बोधन गरिन्छ ।

भगवानलाई कसैले देखेको छैन । एउटा विश्वास न हो । मूर्तिमा केहि समय खर्चिएर कुँदिएका केहि आकृतिलाई हामी भगवान मानेर पुज्दछौँ । भगवान बनाउने मान्छेहरु भन्छन्, मूर्ति बनाउनु पनि एउटा कला नै हो ।

ललितपुरको च्यासल पुग्दा मान्छेहरु भगवान बनाउँदै थिए । मूर्ति बनाउनेहरूले फलामलाई आकार दिएर भगवान् बनाउँदै थिए । केही तयारी मूर्तिहरु सजाएर राखिएका थिए पसलमा ।

मूर्ति बनाउन सजिलो छ त हाम्रो प्रश्नमा विनोद तिवारीले उत्तर फर्काए, ‘सोचेजस्तो सजिलो छैन, लाहा पकाउँदा हात पोल्छ, मूर्ति बनाउँदा हात काट्ने सम्भावना पनि त छ नि ।’ कहिलेकाहिँ स साना टुक्रा उछिट्टीएर आँखामा पर्छ । हातै डाम्छ कहिलेकाहिँ ।

भगवान् बनाउँदै गर्दा : 

च्यासलमा मूर्ति बनाउनेहरू बिहान ६ बजे नै आफ्ना सटर उघार्छन् । कच्चा पद्धार्थलाई भगवानको आकार दिन थाल्छन् । लोकपथ टिम च्यासल पुग्दा कोही मूर्ति बनाउने माटो ठीक पार्दै थिए भने कोही मूर्तिलाई आकार दिँदै थिए ।

कोही बनिसकेको मूर्तिमा रंग लगाउँदै थिए । उनीहरुका अनुसार साना ठूला, सामान्य, विशेष गरेर प्रत्येक व्यक्तिले महिनामा ५ देखि ६ वटा सम्म मूर्ति बनाउन भ्याउँछन् ।

यहाँ निर्मित मूर्तिहरू स्थानीय बजारदेखि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा समेत ‘पुग्ने’ गर्छन् ।

‘विशेष मूर्तिका डिजाइनहरू भने गोप्य राखिन्छन् । त्यस्ता मूर्तिहरू अत्यन्तै महंगा पनि हुन्छन् ।’ विनोद सुनाउँछन् ।

महिनाको ६० हजारसम्म कमाइ : 

एकातिर देशका होनहार युवाहरू रोजगारीका लागि विदेश पलायन भइरहेका छन् । अर्कातिर त्यही युवा समूहका मूर्तिकारहरूले आफ्नो लागि स्वदेशमै रोजगार सिर्जना गरिरहेका छन् ।

भगवानका मूर्ति बनाएरै आफ्नो परिवार पाल्दै आएका उनीहरु कामदेखि सन्तुष्ट पनि छन् । त्यहीँ छेउमै अर्का युवक आफ्ना खुट्टाका औंलाले भगवानको हात च्यापेर आकार मिलाइरहेका थिए ।

उनको नाम शिशिर तिवारी २२ । स्थायी घर सिन्धुपाल्चोक चौतारा ।

शिशिरले सामान्य तरिकाले काम गर्दा पनि महिनामा १५ देखि २० हजारसम्म कमाउने गरेका छन् ।

‘राम्ररी काम गरेको महिना ६-७ वटा मूर्ति बनाइसक्छु । ६० हजारसम्म कमाइ हुन्छ ।’ उनी मुस्कुराउँछन् ।

यता विजय लोप्चनको कथा भने अलिक भिन्न छ । उनी मूर्ति बनाएर महिनामा नभएको पनि ४० देखि ५० हजारसम्म कमाउँछन् ।

तर उनीमाथि परिवारको गर्जो टार्नुपर्ने जिम्मेवारी छैन । त्यसैले आफ्नै लागि कमाउँछन् र आफ्नै लागि रमाउँछन् ।

१५ वर्षदेखि यो काममा लागेका उनलाई शुरुमा काम सिक्न दुई वर्ष लाग्यो । साहुसँग उनले दुखले कामसीके । त्यसयता उनले फर्केर हेर्नु परेको छैन । अहिले भने उनी कामसँग रमाइरहेका छन् ।

तिहारको मुखमा पनि विभिनन मुर्तिको अर्डर आएको उनीहरु सुनाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?