दमौली । क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले कारवाही गरेको छ । क्षमता भन्दाबढी यात्रु बोक्ने चार माइक्रोलाई प्रहरीले बिहीबार कारवाही गरेको हो ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँखण्ड भएर सञ्चालन हुने सवारीसाधनलाई बन्दीपुरको विमलनगरमा चेकजाँच गर्दा क्षमता भन्दाबढी यात्रु बोकेको पाइएपछि ती सवारी साधनलाई कारवाही गरिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटले जानकारी दिए । प्रहरीले बिना कागजात मोटरसाइकल, स्कूटर चलाउनेलाई पनि कारवाही गरेको छ ।
चाडपर्वका क्रममा सर्वसाधारणको यात्रालाई सुरक्षित बनाउने उद्देश्यसहित प्रमुख जिल्ला अधिकारी सागर आचार्य, प्रहरी उपरिक्षक अरुण पौडेललगायतको टोलीले सवारीसाधनको चेकजाँच गरेको थियो । ट्राफिक प्रहरीले दशैंको बेला पनि बढी भाडा असुल्ने सवारी साधनलाई कारवाही गरेको थियो । चेकजाँचलाई निरन्तरता दिइने प्रहरीले जनाएको छ ।
तिहारमा देउसीभैलो खेल्न प्रतिबन्ध
जिल्ला प्रशासन कार्यालय तनहुँले तिहारको अवसरमा देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको छ । कोभिड–१९ को जोखिम दिनप्रतिदिन बढ्दै गएकाले प्रशासनले देउसीभैलो खेल्न प्रतिबन्ध लगाएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रेस विज्ञप्ती सार्वजनिक गर्दै नजिकै आइरहेका चाडपर्वमा देउसीभैलो नखेल्न आग्रह गरे। साथै हिँडडुल तथा भीडभाड कम गर्न, मादक पदार्थ सेवन गरी होहल्ला नगर्न नगराउन, जुवातास नखेल्न पनि प्रशासन कार्यालयले आग्रह गरेको छ ।
सूचनाको अवज्ञा गर्ने गराउने व्यक्तिलाई सङ्क्रामक रोग ऐन, २०२० तथा अन्य प्रचलित कानुन बमोजिम कारवाही हुने प्रशासनले जनाएको छ । जिल्लाभित्र कुनै प्रकारका मेला तथा बजारमा भीडभाड नगर्न, सामाजिक भौतिक दूरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउने, नियमित रुपमा साबुनपानीले पटक–पटक हात धुने वा स्यानीटाइजरको प्रयोग गर्न, प्रयोग गर्न, सवारीसाधनमा नेपाल सरकारले तोकेको मापदण्ड भन्दा बढी यात्रु नराख्ने जस्ता न्यूनतम स्वास्थ्य र सुरक्षाका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरिएको छ ।
फरार प्रतिवादी कारागार चलान
विभिन्न मुद्धामा सजाय पाई फरार रहेका तीन प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध, सार्वजनिक र सरकारवादी देवानी विविध मुद्धामा पक्राउ परेका प्रतिवादीलाई आज कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
लागुऔषध मुद्दामा जिल्ला अदालत तनहुँबाट एक वर्ष कैद र ५० हजार जरीवाना तोकिएका भानु नगरपालिका–१ पुल्चोकका विष्णुकुमार थापा कारागार चलान भएका छन् । उनलाई बिहीवार बन्दीपुर गाउँपालिका–१ डुम्रेबजारबाट पक्राउ गरी आज जिल्ला अदालत पेश गरिएको थियो । प्रहरीले विसं २०७६ माघ २७ गते थापाको घरबाट लागुऔषध बरामद गरेको थियो । विसं २०७७ असोज २१ गतेको अदालतको निर्णय बमोजिम निजलाई कैद र जरीवानाको फैसला भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया