लकडाउनविरुद्ध प्रदर्शनमा सहभागी १०४ जना पक्राउ

लण्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका छन् ।

कोरोना भाइरसको महामारी फैलिँदै गएपछि सरकारले दोस्रो पटक देशव्यापी लकडाउनको घोषणा गरेकाले त्यस विरुद्ध बिहीवार हजारौँले प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा उत्रिएकाहरुलाई तत्काल भिडभाडबाट भाग्न र घरघर जान प्रहरी अधिकारीहरुले निर्देशन दिएका थिए । निर्देशन दिँदा पनि अवज्ञा गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

प्रहरी कमाण्डर जोन कोन्नर्सले कोरोना भाइरस विरुद्ध लागु गरिएका प्रतिबन्धात्मक व्यवस्थाहरुको उल्लंघन गरेकाहरुलाई पक्राउ गरिएको स्पष्ट पारे ।

हाम्रो मुख्य जिम्मेवारी लण्डनलाई सुरक्षित राख्नु हो, त्यसका लागि हामीले भिडभाड गर्न नदिने नियम लागू गरेका छौँ, केही व्यक्तिहरुले त्यसलाई अटेरी गरे, त्यसैले हामीले पक्राउ गरेका हौँ, उनले भने ।

झण्डै आठ महिना लामो महामारीका क्रममा बेलायतमा पटक पटक लकडाउन गरिएको छ र त्यसको अस्थालाई कहिले खुकुलो र कहिले कसिलो बनाउने गरिएको छ ।

केही हप्ता अगाडि महामारी फेरी बढ्न थालेपछि सरकारले लकडाउनलाई फेरी कडाइ गर्ने घोषणा गरेको हो ।

विश्व स्वास्थ्य संगठनले गत मार्च ११ देखि विश्वभरी कोरोना भाइरसको महामारी घोषणा गरेको छ । संगठनका अनुसार महामारीका कारण विश्वभरी अहिलेसम्म चार करोड ९० लाख ५६ हजार ६६४ जना संक्रमित भएका छन् ।

त्यसैगरी १२ लाख ३९ हजार ९९१ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने तीन करोड ५० लाख एक हजार ६२४ जना कोरोना भाइरसबाट संक्रमित भएर पनि अहिले मुक्त भइसकेका छन् ।

विश्वभरी अहिलेपनि कोरोना भाइरसबाट संक्रमित अवस्थामै रहेकाहरुको संख्या एक करोड २८ लाख १५ हजार ४९ रहेको छ । ती मध्ये झण्डै एक प्रतिशत मात्रै गम्भीर अवस्थामा रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?