दुई हजार मिटर अग्लो डाँडामा काठको मन्दिर निर्माण

रोल्पा । रुन्टीगढी गाउँपालिकाका युवा सक्रिय भएर मन्दिर निर्माण भएको छ । पर्यटक तान्न उनीहरुले काठैकाठको मन्दिर निर्माण गरेका हुन् ।

दक्षिण रोल्पाको रुन्टीगढी–६ निगालपानी र सरेचौरका बासिन्दाले मुरुले लेकको दुई हजार १५० मिटर उचाइमा सो मन्दिर गत साउनदेखि निर्माण आरम्भ गरिएको थियो । सो स्थानमा अहिले धर्मशाला, चार सय मिटर लामो सिंढी, गौशाला, शौचालयलगायत भौतिक संरचना निर्माण भइरहेको मुरुले लेक संरक्षणका अध्यक्ष चेतलाल पुनले जानकारी दिए।

स्वर्गद्वारी महाप्रभुको तपोभूमि प्युठानको स्वर्गद्वारी जाने अधिकांश पर्यटक मुरुले लेकसमेत अवलोकन गरी फर्कन्छन् । सो स्थानबाट भारतका विभिन्न भूभाग तथा नेपालका पूर्वमा पुथा हिमाल, पश्चिममा सल्यान जिल्लाका विभिन्न स्थान र दक्षिणमा दाङको दृश्यावलोकन गर्न सकिन्छ । मुरुले आउने अधिकांश पर्यटक छिमेकी जिल्ला दाङ, सल्यान, प्युठान र रुकुमका रहने गरेको स्थानीयवासी कमल चन्दले जानकारी दिए ।

गाउँपालिकाले पर्यटन प्रवद्र्धनका लागि यसअघि रुन्टीगढी विकास सम्मेलन, होलेरी राष्ट्रिय अक्षर महोत्सव र होलेरी राष्ट्रिय मिडिया सम्मेलन गरिसकेको छ । सबै कार्यक्रमका अतिथिले मुरुले लेकलाई विशेष ढङ्गले अवलोकन गरेका थिए । पछिल्लो पटक बनेको काठैकाठको मन्दिरले मुरुले क्षेत्रको पर्यटनमा थप टेवा पुग्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।

स्थानीय युवाले जनश्रमदानबाट मन्दिर निर्माण गर्न थालेपछि उक्त काममा सघाउन गाउँपालिकाले दुई लाख बजेट उपलब्ध गराएको स्थानीय युवक नन्दराम खड्काले बताए ।
स्वर्गद्वारी महाप्रभुको जन्मस्थल रुन्टीलाई केन्द्रविन्दु बनाएर स्थानीय सरकार गठनसँंगै आसपासका अन्य पर्यटकीय सम्भावनालाई समेत एकीकृत रुपले जोडेर पर्यटन विकासका गतिविधि भइरहेका छन् । विसं २०५२ फागुन १ गते तत्कालीन विद्रोही नेकपा (माओवादी)ले पहिलो पटक प्रहरीचौकी आक्रमण गरेर चर्चित बनेको होलेरीमा हाल शान्ति स्मारक बनाइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?