अफगानिस्तानमा भएको विस्फोटमा छ सर्वसाधारणको मृत्यु, १४ घाइते

कुन्दुज । अफगानिस्तानको कुन्दुजमा भएको एक विस्फोटमा परी छ जना सर्वसाधारणको ज्यान गएको छ ।

सो विस्फोटमा परेर अरु कम्तीमा पनि १४ जना नराम्ररी घाइते भएका बताइएको छ । बुधवार दिउँसो भएको विस्फोटको स्थानीय अधिकारी कुदरतुल्लाह साफीले पुष्टि गरेका छन् ।

कुन्दुजको खनावाद जिल्लामा भएको सो विस्फोट बुधवार दिउँसो १ बजे भएको थियो ।

सर्वसाधारण नागरिक बजारमा किनमेलका लागि गएको समयमा सो विस्फोट गराइएको थियो । यो विस्फोट अफगानिस्तानमा सशस्त्र हिंसा गरिरहेका तालिबानहरुले गराएको बताइएको छ । तर यस विषयमा उनीहरुले भने केही भनेका छैनन् ।

पछिल्लो समयमा तालिबानीहरुले अमेरिकाको समन्वयमा अफगानिस्तानको सरकारसँग शान्ति वार्ता गर्ने सहमति गरेर वार्ता पनि शुरु गरेका थिए । उता कतारको राजधानी दोहामा सो वार्ता जारी नै रहेका बेला यता तालिबानीहरुले आक्रमण भने जारी नै राखेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?