शुक्लागण्डकीको बजार क्षेत्रमा लकडाउन घोषणा

दमौली । कोरोना भाइरसको संक्रमण समुदायस्तरमा तीव्रगतिमा फैलिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाले बजार क्षेत्रमा लकडाउनको घोषणा गरेको छ । बुधवार दिउँसो बसेको नगर कार्यपालिका बैठकले बुधवार राति १२ बजेदेखि आगामी मङ्गलवार रातिसम्म लकडाउन गर्ने घोषणा गरेको हो ।

यो अवधिमा नगर क्षेत्रमा राजमार्गसँग जोडिएको बजारसँगै ढोरफिर्दी र साँखे बजार पनि बन्द रहने नगर प्रवक्ता खिमबहादुर कुमालले बताए ।

उनका अनुसार अत्यावश्क सेवामा पर्ने स्वास्थ्य, सरसफाइ र विपद् व्यवस्थापन बाहेक बैंक तथा वित्तीय संस्था, सामाजिक सङ्घसंस्था, सार्वजनिक र निजी संस्थान, उद्योग कलकारखाना र यातायातले दिने सेवा बन्द हुनेछ । “पूर्व निर्धारित कक्षा ११ को परीक्षा भने सञ्चालन हुनेछ । परीक्षा सञ्चालन गर्दा जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना हुनुपर्नेछ,” प्रवक्ता कुमालले भने ।
नगरपालिकाले अत्यावश्क कामबाहेक घरबाट बाहिर ननिस्कन नगरबासीलाई सचेत गराएको छ । मास्क लगाउने, समूहमा हिँडडुल नगर्ने, भौतिक दूरी कायम गर्ने र धार्मिक तथा सामाजिक कार्यका लागि भेला नहुन भनिएको छ । शुक्लागण्डकीको मुख्य व्यापारिक केन्द्र दुलेगौँडा बजारमा कोरोनाको संक्रमण भित्रभित्रै फैलिएपछि जनस्तरबाट लकडाउन गर्न आवाज उठिरहेको थियो ।

स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार शुक्लागण्डकीमा १४६ जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक सय १० जना कोरोनामुक्त भएपछि हाल सक्रिय संक्रमितको संख्या ३६ छ भने दुई जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् ।

उता जिल्लाकै म्याग्दे गाउँपालिका पनि मङ्गलवारदेखि बन्द रहेको छ । कर्मचारी र जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि शुक्रवारसम्म गाउँपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिका क्षेत्रमा सञ्चालित संस्थागत र सामुदायिक विद्यालयसँगै सेवा प्रदायक संस्थाबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पूर्ण रुपमा बन्द छन् ।

जुवा खेल्ने सात पक्राउ

तनहुँको शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारबाट जुवा खेल्ने सात जना पक्राउ परेका छन् । खैरेनीटारस्थित सापकोटा होटलमा जुवा खेलिरहेको सूचनाको आधारमा प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाको नेतृत्वमा गएको प्रहरी टोलीले शुक्लागण्डकी नगरपालिका–११ का दिपक श्रेष्ठ, दिपक विक, शङ्कर शर्मा, कमल थापा, व्यास नगरपालिका–१० का मोतीकुमार श्रेष्ठ, बागलुङ ढोरपाटन नगरपालिका–४ का टेक छन्त्याल र पर्वत बालकोटका रवि गुरुङलाई पक्राउ गरेको हो । प्रहरीले निजहरुको साथबाट रु एक लाख ९७ हजार ९५० बरामद गरेको छ ।

बन्दीपुरमा ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रम

गाउँमा रहेका युवालाई गाउँमै रोजगार दिने उद्देश्यसहित तनहुँको बन्दीपुर गाउँपालिकाले गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको छ । सीप भएका तर रोजगारी नभएका युवालाई लक्षित गरी गाउँपालिकाले ‘गाउँ प्रमुखसँग रोजगार’ कार्यक्रमको अवधारणा ल्याएको हो ।

युवालाई रोजगारी दिने उद्देश्यसहित जिल्लामै पहिलोपटक बन्दीपुरले सो कार्यक्रम शुरु गर्न लागेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । “यस कार्यक्रममार्फत् विभिन्न योजनामा गाउँपालिकाभित्रका युवालाई रोजगारी दिन्छौ,” उहाँले भन्नुभयो, “सङ्घीय सरकारको प्रधानमन्त्री रोजगार कार्यक्रम जस्तै स्थानीय सरकारको गाउँ प्रमुखसँग रोजगार कार्यक्रम सञ्चालन गर्न लागेका हो ।”

यस कार्यक्रमका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाका रोजगार संयोजक शरणसिंह गुरुङले यस कार्यक्रमका लागि योजना छनोटको काम भइरहेको जानकारी दिए । वडाले छनोट गरेका योजनालाई पनि उक्त कार्यक्रममा समावेश गरेर लैजाने उनले बताए । “योजना छनोट गरी लागत अनुमान गर्ने काम भइरहेको छ, प्रधानमन्त्री रोजगार कार्यक्रमसँगै यसलाई पनि सँगै अगाडि बढाउने तयारी छ,” उनले भने । तिहारपछि सो कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको तयारी छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बन्दीपुर गाउँपालिकामा ३६० बेरोजगार सूचीकृत भएका छन् । वडा नं १ मा २९, वडा नं २ मा ५६, वडा नं ३ मा ८०, वडा नं ४ मा १४, वडा नं ५ मा ६१ र वडा नं ६ मा १२० जना सूचीकृत भएका छन् । सूचीकृत भएकाहरुलाई नै गाउँ प्रमुखसँग रोजगार कार्यक्रममार्फत् काम दिने तयारी छ ।

गाउँपालिकाले “पर्यटन, कृषि, सहकारी, शिक्षा र पूर्वाधार, समृद्ध बन्दीपुर गाउँपालिका निर्माणको मूल आधार” लाई मुख्य नारा बनाएर कार्यक्रम तय गरेको उपाध्यक्ष करुणा गुरुङले जानकारी दिए । गाउँपालिकाले बाँझो भूमि खेतीका लागि अनुदान कार्यक्रम, उपाध्यक्षसँग महिला सीप विकास कार्यक्रम, अध्यक्षसँग बालबालिका कार्यक्रम, एक हल गोरु एक थान हलो वितरण कार्यक्रम, विपन्न गर्भवती महिला पोषण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । त्यस्तै आफ्नै स्थानीय तह आफ्नै लगानीअन्तर्गत अतिविपन्न परिवारका लागि विद्युतीय चुल्हो वितरण, एक लिटर दूध उत्पादनमा एक अनुदान कार्यक्रमलाई समेत प्राथमिकता दिइएको उनले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?