के नदीहरु पनि रजस्वला हुन्छन् ?

काठमाडौं । धर्म शास्त्रमा नदीहरु पनि रजस्वला हुने कुरा बताईएको छ । नदीहरुको रजस्वला सम्बन्धमा हेमाद्रिमा उद्धृत अन्निको भनाई यस प्रकार रहेको छ । सूर्य कर्कट र सिंहमा रहँदा सबै नदी रजस्वला हुन्छन् । मानिसहरुले त्यसबेला ती नदिहरुमा स्नान आदि कर्म गर्नु हुदैन । ग्रन्थकार भन्दछन् यो निषेध क्षुद्र नदीहरुका लागि हो । यसबारे व्याघ्र भन्दछन्– श्रीसूर्य सिंह र कर्कटमा रहँदा सबै नदी रजस्वला हुन्छन् तिनमा स्नान गर्नु हुँदैन । तर जुन नदीहरु समुन्द्रमा जान्छन् ती महानदीहरुका रजोदोष लाग्दैन । तसर्थ तिनमा स्नान गर्न बाधा हुदैन ।

मत्स्य पुराणमा भने अगस्त्यनक्षत्रको उदयकालसम्म बसै नदि रजस्वला हुने कुरा बताउँदै भनिएको छ–जुन नदिहरुको लम्बाई ८००० धनु बराबरको हुँदैन ती नदी नै होईनन् अपितु तिनलाई गर्त अर्थात खाडल भन्नुपर्दछ ।

महानदीहरुको रजोधर्मका बिषयमा भविष्यपुराणमा भनिएको छ –सूर्यनारायणको कर्कप्रवेशको प्रारम्भिक चरणमा तीन दिनसम्म सबै नदी रजस्वला हुन्छन् । चौथो दिन ती महानदीहरु भागीरथी झैँ पवित्र हुन्छन् ।

व्रह्मपुराणमा प्रमुख नदीहरुका नाम निरुपण गरिएको छ । तद्नुसार विन्ध्याचलको दक्षिण भागमा रहेको नदीहरु–गोदावरी,भीमरथी,तुङगाभद्रा,वेणी,तापी र पयोष्णी । विन्ध्याचलको उत्तर भागमा रहेका नदीहरु भागीरथी,यमुना,नर्मदा,सरस्वती,विशोका,बिहस्ता नदीहरु विन्ध्याचलदेखि उत्तरतर्फ रहेका छन् । यी बाह्रवटै महानदी देवता र ऋषिका पुण्यधामबाट पैदा भएका हुन् । मदनरत्नमा भनिएको छ –देवीका,काबेरी र बञ्जरानामक यी महानदीहरु कर्कसक्रान्ति आरम्भ भएपछि तीन दिनसम्म रजोदोषका कारण दूषित हुन्छन् ।

यसबारे कात्यायन भन्दछन् –गोमती,सरयू , नर्मदा र सिन्धु यी नदीहरु कर्कसंक्रान्तिको आरम्भ भएपछि तीन दिनसम्म रजोदोषका कारण दूषित हुन्छन् । तीन दिनसम्म रजोदूषित हुनेकुरा गङ्गानदी बाहेकका नदीहरुका विषयमा जान्नुपर्दछ ।

देवलका मतमा– गङगा,यमुना,प्लक्षजाता,सरस्वती र नदहरु कहिले पनि रजोदूषित हुदैनन् ।

शोण,सिन्धु,हिरण्या,कोकी,लोहिता,घर्घरा र शतद्रु यी सात नदी पवित्र नदि हुन् । मदनरत्नमा भनिएको छ –जुन कर्कको आरम्भमा तीनदिनसम्म गङगा रजस्वला हुन्छिन् भन्ने कुरा गरिएको छ त्यो भागीरथीभन्दा बाहेक काबेरी आदि गङ्गाको विषयमा भनिएको हो ।

यससम्बन्धमा निगमको वचन यसप्रकार रहेकोछ –धर्मद्रवमयी पुण्यगङ्गा,यमुना,र सरस्वती यी नदीहरु सबै अवस्थामा निर्मल हुन्छन् । तिनको रजोदोष बाहिर प्रकट हुदैन । तर महानदीको तिरमा बसोबास गर्ने मानिसहरुले नदी रजस्वला हुँदा स्नान आदि कर्म गरेको दोष लाग्दैन किनकी महानदीहरुको रजोदुषित जल गङ्गाजलमा मिसिएपछि पवित्र बन्दछन् भन्ने कुरा मत्स्यपुराणमा उल्लेख गरिएको छ ।

ज्यो.दुर्गा भण्डारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?